close

‘तीन  शिक्षक ले कक्षा छसम्म कसरी पढाउने ?’

‘तीन  शिक्षक ले कक्षा छसम्म कसरी पढाउने ?’

Trulli
ADVERTISEMENT

विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका छन्। नजिकै पिपल चौतारा र मन्दिर छ। अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै बझाङकाे सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिन्छ। 

लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए। शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाइरहेका थिए। 

त्यतिकैमा पालिकाकाे अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् ।

कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताए । ‘बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो । तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ ।’ उनले अनुगमनमा आएको टोलीसँग भने। 

मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाए। अनुगमनमा आएको गाउँपालिकाको टिमसँग उनले भने, ‘हामीले शिक्षक चाहियो भनेको दुई/तीन वर्ष नै भइहाल्यो । विद्यालयभरि जम्मा तीन जना शिक्षक छौँ।  हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने ?’

उनका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन् । तर तीन जना कता शिक्षकलाई हम्मेहम्मे परेको छ। एक जना शिक्षक नै भएपनि पालिकाले विद्यालयमा पठाए निर्क सजिलो हुने उनले बताए। ‘पहिला पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको पठाइदिन अनुरोध गरेँ। आश्वासन पायौँ तर शिक्षक पाएनौँ। आन्तरिक स्रोतको अभावका कारण विद्यालय आफैले शिक्षक राख्नसक्ने अवस्था छैन। एक जना शिक्षक बिदामा बस्दा पनि विद्यालयको बेहाल हुने गरेको छ।’

उनले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताए । यसै शैक्षिक सत्रमा मात्रै २५ जना विद्यार्थी निजी विद्यालयमा पढ्न गएको उनको भनाई छ। ‘उहाँहरूलाई हामीले रोक्न सकेनौँ । पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाउनुभयो । शिक्षककै कमीले यस्तो अवस्था आएको हो । हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौँ ।’

विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारती बताउँछन्। अध्यक्ष भएको दुई वर्षको अवधीमा पटक पटक शिक्षकको माग गर्दा पनि नगाएको गुनासो गरे । यसपाली पालिकाको टोलीनै विद्यालय पुगेकाले विद्यालयमा नयाँ शिक्षक आउने कुरामा आशावादी रहेको उनले बताए। 
साथै उनले विद्यालयमा फोटोकपी मेसिन, शैक्षिक सामग्री, विद्यालयको घेरबारसमेत आवश्यक रहेको बताएका छन्। 

अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।