close

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन गर्ने भएको हो । 

 केही दिनअघि सम्पन्न गाउँसभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन गरी उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, 'यसका लागि आफ्नै अध्यक्षतामा पालिकास्तरीय परीक्षा समिति गठन गरी माघ २९ गते बसेको बैठकले विभिन्न निर्णय गर्दै कामलाई अगाडि बढाएको छ ।'

    सो बैठकले परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र पाँच जना विषयगत उपसमितिका संयोजक सदस्य रहने गरी नौ सदस्यीय परीक्षा समिति रहने व्यवस्था गरिएको छ । 

    साथै विषयगत समितिका संयोजकमा तीर्थबहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अङ्ग्रेजी, ईश्वरबाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित विषयका लागि चयन हुनुभएको छ । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार प्रश्नपत्र निर्माणदेखि विषयगत सुधारका निम्ति विषयगत समितिले अन्य विज्ञ शिक्षकको सहयोग लिएर काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।