close

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

Trulli
ADVERTISEMENT

पाँचथर ।  मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन निर्णय गरेको छ । चैत १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि र कर्मचारीका सन्तालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरेको हो । 

गाउँपालिकाको अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कार्यपालिकाले बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिर्थराज मिश्रले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सो निर्णय गरेको बताए। 

उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, गाउँपालिका अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीका सन्तानले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने छ । 

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि सरकारले धेरै लगानी गरे पनि सो अनुसारको प्रतिफल नआएपछि गाउँपालिकाले सो निर्णय गरेको बताए । 

जनप्रतिनिधि र कर्मचारीको छोरा/छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएपछि  विद्यार्थीको संख्या बढ्नुको साथै शिक्षामा सुधार हुने उनको विश्वास छ । 

उनका अनुसार पालिकामा हाल ५६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये अधिकांश विद्यालयमा विद्यार्थी अभाव हुँदै गएको उनले बताए ।