close

पैयुँले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

पैयुँले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

पर्वत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ ।कार्यक्रम सञ्चालन गर्नकाे लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।

अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । अङ्ग्रेजी माध्यममा अध्यापन हुने विद्यालय खोजीमा निजी विद्यालयमा आकर्षित भइरहेको अवस्थामा गाउँपालिकाले सामुदायिक विद्यालयमा यो अभ्यास सुरु गर्न लागेको हो ।

'अंग्रेजी माध्यमको सिकाइका लागि भन्दै बजारमा बस्ने र निजी विद्यालयमा सन्तानलाई पढाउने गरेको त देखिएकै छ', प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने, 'हाम्रो ध्येय सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुसारको र प्रतिस्पर्धी बनाउने हो । हाम्रो उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।'
    
    गाउँपालिकाले शैक्षिक सुधार योजना अन्तर्गत यसवर्ष अङ्ग्रेजी माध्यमको एउटा नमुना विद्यालय सञ्चालन गर्ने छ । नयाँ वर्षदेखि सबै विद्यालयमा नर्सरीदेखि कक्षा १ मा अनिवार्य रुपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाइनेछ भने कुनै एक विद्यालयमा कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट रुपमा पठनपाठन सुरु गर्ने योजना अगाडि सारेको हो । 

    सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुरुपको, प्रतिस्पर्धी बनाउने उद्देश्यले गाउँपालिकाले सर्वपक्षीय छलफलसमेत गरेको गाउँपालिका अध्यक्ष तोरण  मल्लले बताए । गाउँपालिकाभित्र आठ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । नौ कक्षासम्म अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने गरी ती विद्यालयबाट प्रस्तावनाको आह्वान गरिएको छ । इच्छुक विद्यालयबाट प्रस्तावना प्राप्त विद्यालयको भौगोलिक अवस्था, पूर्वाधारको अवस्थाको बारेमा गाउँपालिकाले अध्ययन गर्ने भएको छ ।