close

विद्यालयको उत्कृष्ट विद्यार्थीलाई बाख्रा पुरस्कार

विद्यालयको उत्कृष्ट विद्यार्थीलाई बाख्रा पुरस्कार

Trulli
ADVERTISEMENT

सर्लाही । हरिवन नगरपालिकाको चुरे जनता आधारभूत विद्यालयले उत्कृष्ट विद्यार्थीलाई पाठासहित बाख्रा उपहार दिएको छ । शैक्षिक वर्षको अन्तिम परीक्षामा विद्यालयभरीमै सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएका निश्चल मोक्तानलाई पाठासहित बाख्रा पुरस्कार दिएको हो । 

विद्यालयका प्रधानाध्यपक दिल्लीराम भट्टराईका अनुसार  विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्नको लागि बाख्रा वितरण गरेको हो । उनले पालिकाको शैक्षिक सुधार गर्नका लागि वडा नम्बर ८ को कार्यालयको सहयोगमा बाख्रा खरिद गरि पुरस्कार दिएको बताए । 

'यो हाम्रो ग्रामीण क्षेत्रको विद्यालय हो । आर्थिक विपन्न र अशिक्षाले गर्दा पढ्नु पर्छ भन्ने मान्यता छैन,' उनले भने, 'अरु स्थानीयलाई पढ्नु पर्छ भन्ने मानसिकताको विकास गर्नको लागि वडाको सहयोगमा बाख्रा वितरण गरेका हौं ।'

उनले बाख्राबाट आर्थिक आर्जनसमेत गर्न सक्ने भएकाले सो विद्यार्थीको परिवार आर्थिक रुपमा पनि सक्षम हुने विश्वास व्यक्त गरे । ५ कक्षासम्म अध्यापन हुने सो विद्यालयमा अन्य विद्यार्थीलाई पनि बाख्रा वितरण गर्ने लक्ष्य भएपनि आर्थिक अभावकाको कारण कार्यक्रम सञ्चालन गर्न नसकेको उनले बताए । 

वडा अध्यक्ष प्रज्वल ढुङ्गानाको अनुसार वडाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यार्थीलाई बाख्रा पुरस्कार वितरण गरेको हो । उनले वडा कार्यालय शैक्षिक सुधारको लागि ३ लाख रुपैयाँ बजेट विनियोजना गरेको बताए । 

'हामीले शैक्षिक सुधारको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ । सो रकमबाट विद्यालय पोशाक, भवनको निर्माण र रंगरोगन गरेका थियौँ,' उनले भने, 'कार्यक्रमबाट ८ हजार रुपैयाँ बाँकी रह्याे र   सोही रकमबाट विद्यार्थीलाई बाख्रा वितरण गरेकाे हाे।'

आर्थिक रुपमा विपन्न भएकोले परिवारलाई आर्थिक सहयोग गर्ने र पढ्नु पर्छ भन्ने मानसिकता ल्याउनको लागि वडाले सो कार्यक्रम गरेको उनले बताए । उनले वडाभित्र ३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको र सबैभन्दा कमजोर विद्यालयलमा सो कार्यक्रम सञ्चालन गरेको बताए ।