close

कक्षा १२ सम्म निःशुल्क शिक्षा ल्याउँदै राप्ती

कक्षा १२ सम्म निःशुल्क शिक्षा ल्याउँदै राप्ती

Trulli
ADVERTISEMENT

चितवन। राप्ती नगरपालिकाले विद्यालयमा निःशुल्क शिक्षाको लागि गृहकार्य सुरु गरेको छ । नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न लागेको हो। 

नगरपालिकाकी शिक्षा शाखा अधिकृत रबिना देउजाले यस शैक्षिक सत्र २०८० देखि निःशुल्क शिक्षा प्रदान गर्न खोजिएको पालिकाखबरसँग बताइन। ‘मेयर, उपमेयर ज्यूले यसै शैक्षिक सत्रदेखि निशुल्क शिक्षा ल्याने भनेर हरेक कार्यक्रममा बताउँदै आउनुभएको छ। नगर शिक्षा समितिबाट एक महिना अघि नै निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय भइसकेको छ,’ उनले भनिन्। 

तर कार्यपालिकाको बैठकबाट निर्णय नभइसकेको उनको भनाइ छ । उनको अनुसार आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर सामुदायिक विद्यालयमा निशुल्क शिक्षा उपलब्ध गराउन लागिएको हो। 

‘शिक्षा शाखाले विद्यालयलाई विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनैपनि शुल्क नलिन परिपत्र गरिसकेको छ । विद्यार्थी संख्या र खर्चको विवरण राख्न विद्यालयलाई भनेका छौँ। नगरपालिकाले बजेट विनियोजन गरेपछी विद्यालयलाई रकम भुक्तानी गछौँ,’ उनले जानकारी दिइन्। 

राप्ती नगरपालिकामा ४९ वटा सामुदायिक विद्यालय छन्। उनको अनुसार अधिकांश प्राथमिक विद्यालयले परिक्षा शुल्कको रुपमा रु १०० मात्र उठाउने गरेका छन् । माध्यमिक विद्यालयमा भने अलि पढी उठाउने गरेको उनले बताइन्। 

‘विज्ञान विषयलाई प्राथमिकता दिएर पढाउने विद्यालय पनि छन्। यस्ता विद्यालयमा अलि बढी पैसा उठाउने गरेको पाइएको छ। आवश्यक शिक्षकको अभावमा सामुदायिक विद्यालय आफैले शिक्षक नियुक्त गरेर पढाउने गरेको र विद्यार्थीबाट शुल्क उठाएर तलब दिने गरिएको छ।’ उनले भनिन्। यस्ता शुल्क नगरपालिकाले व्यहोर्ने योजना रहेको उनको भनाई छ।