close

आँबूखैरेनीका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम

आँबूखैरेनीका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम

Trulli
ADVERTISEMENT

तनहुँ । आबूखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकाभित्रको सामुदायिक विद्यालयमा आइतबारदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाले वडा नम्बर ४ स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयबाट सो कार्यक्रमको सुरुवात गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीले करिब २ रोपनी जग्गामा १७५ किलोग्राम अदुवा र १६५ किलोग्राम हलेदो रोपिएको छन् । गाउँपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिकाे सहभागितामा साे कार्यक्रमको सुरुवात गरेका हुन् । 

 गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार पालिकाभित्रका विद्यार्थीलाई सीप र उत्पादनसँग जोड्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

उनले विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउन तथा आयमूलक कार्यमा सहभागी गराउनका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको उनले पालिकाखबरलाई बताए । 'सैद्धान्तिक तथा कितावी ज्ञानले विद्यार्थीले सीप सिक्ने सकेका छैनन् । उद्यमी बन्न जानेका छैनन,' उनले भने, 'विद्यार्थीलाई उद्यमी बनाउनका लागि गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।' 

उनका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सो कार्यक्रममा सहभागी गराइने छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा ६ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिने र आगामी वर्ष थप विद्यालयमा लागू गरिने उनको भनाई छ । 

उनले कार्यक्रमको लागि अदुवा तथा हलेदी खेती, लोकल कुखुरा पालन, फूल नर्सरी लगायतको कृषि उत्पादन छनौट गरिएको बताए । गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत सो पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ । 

सो कार्यक्रमको लागि करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरको उनले बताए । 'एक वडा एक विद्यालयका लागि हामीले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । त्यसमध्ये २० लाख रुपैयाँ विद्यालयको लागि छुट्याएका छौैैं', उनले भने, 'आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन गर्ने छौँ ।' 

कार्यक्रम गर्नको लागि केही विद्यालयले आफ्नै भवन र जग्गामा र केहीले लीजमा लिएको उनले बताए । 'कार्यक्रमको लागि आवश्यक लगानी लगानी गाउँपालिकाले नै गर्नेछ । तर उत्पादन सबै विद्यार्थीलाई नै दिने छौँ,' उनले भने, 'विद्यार्थीले पछि काम गर्न समेत सिक्ने छन् ।' 

उनले उत्पादित सामग्रीको लागि बजारको व्यवस्थापन पालिकाले नै गर्ने बताए । उत्पादित सामानकाे लागि बजारीकरणकाे जिम्मेवारी गाउँपालिकाले नै गर्ने उनकाे भनाइ छ ।