close

विद्यार्थीलाई योग र प्राकृतिक चिकित्सासम्बन्धी प्रशिक्षण

विद्यार्थीलाई योग र प्राकृतिक चिकित्सासम्बन्धी प्रशिक्षण

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिकाले स्वस्थ्य जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा  प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । 

आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा लाखौंँ रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको हो ।
 
महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई समेत ध्यान दिँदै आफ्नो नीति तथा कार्यक्रममा यो  विषय समावेश गरेको जानकारी दिइन् । 

शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यवहारिक शुक्रबार अभियान कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । 


'शुक्रबार स्थानीय पाठ्यक्रममा आधारित  क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सङ्गीतका क्रियाकलाप, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै प्रत्येक महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षरोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ', उनले भनिन् । 
 
महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने उनको योजना छ ।

प्रारम्भिक बाल विकास शिक्षालाई गुणस्तरीय बनाउन महानगरभित्रका प्रारम्भिक बाल विकास उमेर समूहका सबै अवस्थाका बालबालिकाको शिक्षामा समतामूलक पहुँच सुनिश्चित हुने गरी बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाको व्यवस्थापन सुधार गरिने महानगरको लक्ष्य छ । 

मापदण्डका आधारमा सूचक विकास गरी बालविकास केन्द्रको वर्गीकरण गर्नुका साथै क श्रेणीका बाल विकास केन्द्रलाई थप प्रोत्साहन उपलब्ध गराउने समेत महानगरको भनाइ छ ।

बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तर सुधारका लागि महानगरबाट विनियोजन हुने बजेटका अतिरिक्त वडामा छुट्ट््याइएको बजेटबाट कम्तीमा १० प्रतिशत शिक्षा विकासका लागि विनियोजन गर्ने व्यवस्था मिलाइने भएको छ । 

शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याइने दाहालले बताइन् । 


जनप्रतिनिधिलाई विद्यार्थीसँग जोड्दै विद्यार्थीका भावना, विचार, अपेक्षा र आवश्यकता बुझ्न र उनीहरूलाई प्रेरणा र हौसला प्रदान गर्न माध्यमिक तहका विद्यार्थीसँग नगर प्रमुख तथा उपप्रमुखको प्रत्यक्ष उपस्थितिमा अन्तरक्रिया गर्ने गरी ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

‘हाम्रो गौरव, हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमको सिकाइलाई व्यवहारिक र प्रत्यक्ष रूपमा संलग्न भएर सिक्ने सिकाउने व्यवस्था मिलाउन स्थानीय पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै शिक्षक निर्देशिका विकास गरी कार्यान्वयनमा ल्याइने महानगरको भनाइ छ ।

शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न ‘मेयर डिजिटल शिक्षा’ कार्यक्रमलाई एक वडा एक नमूना विद्यालय कार्यक्रमसँग आवद्ध गरी कार्यान्वयनमा ल्याइने भएको छ । 

उपप्रमुख चित्रसेन अधिकारीले महानगरको ग्रामीण भूभाग रहेको २९ नम्बर वडाका विद्यालयसम्म जानका लागि भाडामा बस्नुपर्ने शिक्षकलाई मासिक रु दुई हजार प्रोत्साहनस्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनले भने, 'शिक्षा क्षेत्रमा हामी अग्रणी छौंँ, अझै राम्रो गर्ने प्रयासमा छौंँ ।'