close

रामपुरमा ‘मेयर छात्रवृत्ति’  कार्यक्रम

रामपुरमा ‘मेयर छात्रवृत्ति’  कार्यक्रम

Trulli
ADVERTISEMENT

हुम्ला । ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेस्टरको भर्ना अभियान चलेको हुँदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएकाे थियो । 
       
    परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाई बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधार उनी  थिए । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाले रु ३० हजार बराबरको मेयर छात्रवृत्ति’ कोषबाट रकम सहयोग गरेपछि भर्ना गर्ने पिरलो टरेको छ ।
       
 'परिवारमा कमाउने कोही छैन, इञ्जिनियरिङ पढ्ने इच्छा धेरै भएर सुरु गरिहाले, भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन नसक्दा बीचमै पढाई छाड्ने कि भन्ने मनमा कुरा खेलिरहेका बेला रामपुर नगरपालिकाले एकैपटक रु तीस हजार बराबरको छात्रवृत्ति दिएपछि भर्ना हुने पिरलो हटेको छ', उनले भने ।
       
    परिवारको आर्थिक अवस्था कमजोर रहे पनि इञ्जिनियरिङ पढ्ने तीव्र इच्छाले चार दिनको समय लगाएर पाल्पाको रामपुरमा पढ्न आएको उनी बताउँछन्। एकतर्फी मात्र गाडीभाडा रु १० हजार लाग्दछ । जीवनमा इञ्जिनियरिङ विषय पढेर केही गर्ने सपना बुनेका खत्रीको रामपुर नगरपालिकाले पढाइमा सहयोग गरेपछि हौसला थपिएको छ । उनलाई तेस्रो सेमेस्टरमा भर्ना हुन रु ३० हजार रकम लाग्दछ । सो रकम नगरपालिकाको पूरा सहयोगमा पढ्न पाउँदा आफू बाहिरी जिल्लाको विद्यार्थी हुँ भन्ने अनुभूति नभएको बताए ।
       
'आफू जन्मेको गाउँपालिकाले शिक्षामा केही सहयोग गरेको छैन, हामीजस्ता गरिब, विपन्न परिवारका विद्यार्थीले आफ्नो पालिकाबाट केही सेवासुविधा पाइएको छैन', उनले भने, 'घरदेखि चार दिन टाढाको दूरीमा बसेर अध्ययन गर्न आउने हामीलाई यहाँको स्थानीय सरकारले पढाइमा ठूलो मद्दत पु¥याएको छ ।'
       
    दुःखसँग ऋणधन गरेर जसोतसो भर्ना भएर पढ्न थालेको उनले बताएका छन् । घरमा बुबा पाँच वर्षदेखि प्यारलाइसियसको बिरामीले थला पर्नुभएको छ भने भाइ, आमाको लालनपालन, घरको जिम्मेवारी काँधमा रहँदा त्यसमाथि आर्थिक अभावमा पढाइमा धेरै दुःखसँग सङ्घर्ष गरिरहेका छन्। इञ्जिनियरिङका लागि एक वर्ष पढेर पढाइ पूरा नहँुदा भर्ना शुल्क, पढाइका लागि शैक्षिक सामग्रीलगायतमा रकम जुटाउन विपन्न परिवारका विद्यार्थीलाई निकै समस्या छ । नगरपालिकाले बाहिर विद्यार्थीलाई स्थानीयसरह नै शैक्षिक क्षेत्रमा लगानी गरेपछि बाहिरबाट यहाँ पढ्न आउने विद्यार्थीमा आत्मबल बढेको छ । 
       
    रामपुर–१ कुमैडाँडा बस्ने बालकुमारी सुनारले यस वर्ष रु २१ हजार रकम छात्रवृत्तिस्वरुप बुझेका छन् । रामतुलसी नमुना माध्यमिक विद्यालयमा कृषि बाली विज्ञानअन्तर्गत दोस्रो सेमेस्टरमा अध्ययनरत उनी सो रकमले पढाइमा धेरै राहत पुगेको बताउँछन् । छात्रवृत्तिबापत पाएको रकम भर्ना तथा शैक्षिक सामग्रीमा खर्च गर्ने उनले बताए।

  'नगरपालिकाले दिएको छात्रवृत्ति रकमले पढाइमा मनोबल बढाएको छ, मेहनत गर्ने हामीजस्ता विपन्न परिवारका सदस्यलाई पढाइमा सहयोग पाएपछि भविष्यमा पढेर केही गर्छु भन्ने हिम्मत र साहस बढेको छ', उनले भने । एउटा सेमेस्टरमा रु ३० हजार बुझाउनुपर्छ, यस रकमले धेरै सहयोग पुग्ने हँुदा रामपुर नगर सरकारले यस कार्यक्रमलाई निरन्तरता दिन उनकाे अनुरोध छ ।
      
    यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि सुरु गरेको हो । यस आर्थिक वर्षमा नगरपालिकाले गङ्गा माविका चार जनालाई रु ६२ हजार, रामपुर आधारभूत विद्यालयका चार जनालाई रु ३४ हजार, आधारभूत माविका पाँच जनालाई रु ५४ हजार, रामतुलसी नमुना माविका छ जनालाई रु ८७ हजार, दरैठाँटी माविका पाँच जनालाई रु एक लाख ३० हजार, नवदुर्गा माविका १० जनालाई रु ९० हजार, सहिद बहुमुखी क्याम्पस रामपुरका ३३ जना विद्यार्थीलाई रु दुई लाख ९१ हजार छ सय ५० गरी ६७ जना विद्यार्थीलाई जम्मा रु सात लाख ४८ हजार छ सय ५० बराबरको छात्रवृत्ति रकम वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउँछन् । 
       
    कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रतिव्यक्ति रु आठ हजार, ६ देखि ८ सम्म रु १० हजार, ९ देखि १२ सम्म रु १२ हजार, सोभन्दा माथिल्लो वा प्राविधिक धार तहमा अध्ययन गर्नेलाई रु ३० हजारसम्म छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पस भर्ना शुल्कका लागि प्राविधिक धार र जेहेन्दार लाग्ने खर्चका आधारमा रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

       आर्थिक वर्ष २०७८÷२०७९ मा नगरपालिकाले पाँच लाख ६५ हजार छ सय ४० रकमबाट प्राविधिक धार चलेका रामतुलसी नमुना माविका सात जना, दरैठाँटी माविका चार जना, गङ्गा माविका दुई जना गरी १३ जना, क्याम्पसतर्फ सहिद बहुमुखी क्याम्पसका २७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७÷२०७८ मा ‘मेयर छात्रवृत्ति कोष’अन्तर्गत नगरपालिकाले पहिलो वर्ष रु पाँच लाख रकम विनियोजन गरेकामा रु दुई लाख २४ हजार एक सय ८० रकम बराबरको छात्रवृत्ति प्रदान गरियो । सोअन्तर्गत रामतुलसी नमुना मावि, गङ्गा मावि, सहिद बहुमुखी क्याम्पस, नवदुर्गा मावि, कृष्णादेवी मावि, दरैठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।
       
    नगर प्रमुख रमणबहादुर थापाले साना कक्षादेखि ठूला कक्षामा पढ्ने विद्यार्थीलाई उनीहरुको पारिवारिक अवस्था हेरेर सबै वर्ग, क्षेत्र मिलाएर छनोट गरेर छात्रवृत्ति वितरण गरिएको बताए । गत वर्षमा विद्यालय तथा क्याम्पसको खातामा रकम पठाएर छात्रवृत्ति वितरण गरिन्थ्यो भने यस वर्षदेखि भने नगरपालिका कार्यालयमा नै विद्यार्थी, सम्बन्धित विद्यालय, अभिभावक बोलाएर वितरण गरिएको नगर प्रमुख थापाले बताए। 
       
    'पढ्न नसकेर समस्यामा परेका न्यून आय भएका विपन्न परिवारका सदस्यलाई नगर सरकारले ‘मेयर छात्रवृत्ति कोष’ खडा गरेर छात्रवृत्तिका रुपमा वितरण गरिरहेको छ', नगर प्रमुख थापाले भने, 'बाहिरबाट आउने र स्थानीय विद्यार्थीमा शैक्षिक सहयोगमा भेदभाव छैन, सबैलाई समानरुपमा उनीहरुको अवस्था हेरेर रामपुरभित्र बसोबास गरेर अध्ययन गर्ने विद्यार्थीलाई सहयोग दिइरहेका छौँ ।'
       
    आगामी आर्थिक वर्षका लागि ‘मेयर छात्रवृत्ति कोष’अन्तर्गत रामपुर नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ । कार्यक्रम सञ्चालन भएको तीन वर्षको अवधिमा हालसम्म रु १५ लाख बराबरको रकम छात्रवृत्ति विद्यार्थीलाई वितरण गरिएको छ । यस कार्यक्रमले विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुगेको शिक्षक बताउँछन् ।