close

प्रधानाध्यापकलाई ल्यापटप

प्रधानाध्यापकलाई ल्यापटप

Trulli
ADVERTISEMENT

दाङ । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको शिक्षा अधिकृत विश्वास विकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरिएको हो । 

उनले पालिकाभित्रका शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधि मैत्री बनाउन, स्कूलको तथ्यांक, अभिलेखलाई डिजिटल रुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले प्रधानाध्यापकलाई प्रविधिमैत्री बनाउन सक्ने अन्य शिक्षकलाई पनि सहयोग पुग्ने जानकारी दिए । 

'ल्यापटपको प्रयोगबाट शिक्षण विधि, तरिका तथा स्रोतको बारेमा जानकारी लिन सहज हुन्छ', उनले भने, 'यसले पनि पालिकाको शैक्षिक सुधार हुन्छ । विद्यालयको ल्यापटप अन्य शिक्षकले पनि प्रयोग गर्न सक्छन् ।' 

उनले सरकारी कर्मचारीसँग ल्यापटप हुने तर शिक्षकहरुमा नहुने बताए । 'सबै शिक्षकसँग ल्यापटप किन्ने क्षमता हुँदैन । केही सहजताको लागि हामीले सो कार्यक्रम सञ्चालन गरेका हौँ,' उनले भने ।

उनका अनुसार गाउँपालिकाले प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । सो कार्यक्रमको लागि प्रदेशबाट ९ लाख ५० हजार र संघबाट ९ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रबाट गाउँपालिकाभित्र शैक्षिक सुधार भएको उनले बताए । उनले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा बालबिकासदेखि १० कक्षासम्म निःशुल्क शिक्षा वितरण गरेको बताए । 

गाउँपालिकामा २७ वटा सामुदायिक र १८ संस्थागत गरी ४५ वटा विद्यालयमा सञ्चालनमा रहेका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा ९ हजार २३० र संस्थागतमा ६ हजार २८७ गरी १५ हजार ५१७ जना विद्यार्थी अध्ययनरत छन् ।