close

कक्षाकोठामा चाँगुनारायणका प्रतिनिधि

कक्षाकोठामा चाँगुनारायणका प्रतिनिधि

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले विद्यालयको अनुगमन थालेको छ । नगरपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गर्न थालेको हो । 

नगरपालिकाको शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख वीरबहादुर खड्का अनुसार पालिकाभित्रको विद्यालयकाे शैक्षिक गुणस्तरीयतामा सुधार गर्नको लागि अनुगमन कार्य गर्न थालेको हो ।  नगरपालिकाभित्रका विद्यालयहरुको शैक्षिक गतिविधि, भौतिक संरचना, शिक्षण विधि तथा सिकाईबारे जानकारी लिन तथा सुझाव दिनको लागि अनुगमन कार्य थालेको हो । 

उनले चालू आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमअनुरुप विद्यालयको अनुगमन कार्य सुरु गरेको बताए । उनका अनुसार अनुगमनमा विद्यालयको कक्षाकोठामा गएर शैक्षिक गतिविधिबारे अवलोकन गर्ने गरेको बताए । 

उनले अनुगमनका लागि  नगरपालिकाका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी, कर्मचारी तथा विषय विज्ञहरुको सहभागिता रहेको बताए । अनुगमनमा विद्यालयप्रति समुदायको धारणा र समुदायप्रति विद्यालयको धारणा, शिक्षक र विद्यार्थीको संख्या, हाजिरीबारे जानकारी लिने गरेको उनले बताए । 

शाखा प्रमुख खड्काका अनुसार अनुगमनमा खटिएका टोलीले विद्यालयमा सुधार गर्नुपर्ने अवस्थाबारे पृष्ठपोषण दिने गरिएको छ । 'यो हाम्रो पहिलो चरणको अनुगमन हो । यस चरणमा विद्यालयमा भएका राम्रो कामको प्रशंसा र नराम्रो कुरालाई सुधार गर्न सुझाव दिने गछौँ,' उनले भने, 'पहिलो चरणको प्रतिवेदन आएपछि थप अनुगमन गरिने छ । यस अनुगमन विद्यालयका लागि आवश्यक सर्पोट र नियन्त्रणका लागि हो ।' 

उनले हालसम्म ८ वटा विद्यालयको अनुगमन गरेको र बाँकी विद्यालयमा पनि क्रमश गरिने जानकारी दिए । अनुगमन टोलीले विद्यालयको शौचालय, पूर्वाधारको अवस्था, विद्यार्थीको संख्या, हाजिरी, दिवा खाजा, संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति लगायतको अवलोकन गरेको  जनाइएको छ।