close

'बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु ल'

'बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु ल'

Trulli
ADVERTISEMENT

काठमाडौँ-  काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडे कार्यक्रम नहटाउन अनुरोध गरेका छन् । बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीले महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यक्रम नहटाउन अनुरोध गरेका हुन् । 

 ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ उनीहरुले एकै स्वरमा भने ।  विद्यालय निरीक्षणका क्रममा अधिकारीले कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई फरक पर्छ? भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरूले यस्तो उत्तर दिएका हुन् ।

विद्यालयका कक्षा कोठाहरुमा शिक्षकहरू अतिरिक्त क्रियाकलाप गराउन व्यस्त थिए । कक्षा ८ का विद्यार्थीहरू प्रस्तुतीकरण सिपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरू आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरूको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरुमा हाजिरी जवाफ, श्रुतिलेखन, शब्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गरेका थिए। घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन । अब ती जिज्ञासाहरू शुक्रबारका कक्षामा सोध्नु । विद्यार्थीसँगको अन्तरक्रियाका क्रममा अधिकारीले भने, ‘अरू दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा राखे । ‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्छ,’ उनले सुझाव दिए।

विद्यालयहरूमा सिपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले, शौचालय एक ठाउँमा मात्र भएको, त्यो पनि साँघुरो भएको, विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताए ।   

 विद्यालय २०१८ सालमा स्थापना भएको हो । २०५५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालयमा अहिले ७०६ जना विद्यार्थी अध्ययनरत छन् ।

बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षाकोठाहरूमा सजावट गरिएको छ । फर्निचरहरूमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।