close

हल्लाको भरमा विद्यालयलाई बुटवलको कडा निर्देशन

हल्लाको भरमा विद्यालयलाई बुटवलको कडा निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही-  बुटवल उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयलाई शिक्षा ऐन अनुरुपको कार्य गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । 

सूचनाको अनुसार पालिकाभित्र सञ्चालित विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भए बमोजिम काम कर्तव्य र अधिकारको पूर्ण रुपमा पालना नगरेको गुनासो आएपछि उपमहानगरपालिकाले सो निर्देशन दिएको हो । सूचनामा उल्लेख गरिएको छ, ‘यस पालिका अन्तर्गत सञ्चालित कतिपय विद्यालयहरुले वार्षिक कार्ययोजना निर्माण नगरेको, शिक्षकहरुले दैनिक पाठ योजनाविना नै कक्षामा शिक्षण गर्ने गरेको, तोकिएको समयमा विद्यालयको अध्यावधिक नगरेको पाइएको गुनासो आएपछि उपयुक्त कार्य अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशनात्मक अनुरोध छ ।’उपमहानगरपालिकाले जारी गरेकाे निर्देशन

उपमहानगरपालिकाले विद्यालयको नियमित अनुगमन भइरहेकोले निर्देशनात्मक कार्य प्रभावकारी रुपमा पालना गर्न निर्देशन दिएको जनाएको छ । उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार पालिकाभित्रका विद्यालयले सो कार्य पुरा नगरेमा उपमहानगरको योजनामा समेत असर पर्ने भएकोले सो निर्देशन दिएको बताए । 

उनले विद्यालयले समयमा प्रतिवेदन नदिएमा शिक्षासम्बन्धि योजनामा समेत असर पर्ने दावी गरे । उनका अनुसार पालिकाको अनुगमन समिति, वडा तथा शिक्षा शाखाले विद्यालयको कार्यशैलीबारे अनुगमन गर्दै आएको र केही विद्यालयमा सो समस्या देखिएको बताए । उनले उपमहानगरपालिकाकाे सूचनालाई अटेर गरेमा सम्बन्धित विद्यालयलाई कानुन बमाेजिम कारबाही गरिने पालिकाखबरलाई बताए ।

उपमहानगरपालिकाको माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले पालिकाभित्रका विद्यालयबारे सो समस्याबारे कुनै गुनासो नआएको बताए । तर केही विद्यालयबारे बाहिर काम नगरेको हल्ला चलेपछि उपमहानगरपालिकाले सो निर्देशन दिएको पालिकाखबरलाई बताए । 

 ‘विद्यालयहरुको कार्यशैलीबारे हाम्रो शाखामा कुनै पनि गुनासो आएको छैन । तर बाहिर विद्यालयको कार्यशैलीप्रति हल्ला फैलिएको पायौँ,’ उनले भने, ‘सो हल्लाको आधारमा हामीले निर्देशन दिएका हौँ । सो काम नगर्ने विद्यालय हामीले भेटाएका छैनौँं ।’  विद्यालयलाई आफ्नो कार्य र कर्तव्यप्रति सचेत तथा सजग गराउनका लागि सो निर्देशन दिएको उनले बताए । 

उपमहानगरपालिका क्षेत्रमा ३९ वटा सामुदायिक र ५८ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा करिब ६० हजार जना विद्यार्थी अध्ययनरत छन् ।