close

विद्यालयले निर्धारितभन्दा बढी शुल्क लिएपछि बुटवलमा कार्यदल गठन

विद्यालयले निर्धारितभन्दा बढी शुल्क लिएपछि बुटवलमा कार्यदल गठन

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिकाका विद्यालयले जथाभावी शुल्क लिने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयले निर्धारितभन्दा बढी शुल्क लिने गरेको पाइएको हो । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका केही संस्थागत विद्यालयले निर्धारित शुल्कभन्दा २३ देखि ७३ प्रतिशत बढी शुल्क लिने गरेको पाइएको हो । उनले संस्थागत विद्यालयले जथाभावी शुल्क लिने गरेकोबारे पालिकामा डेलिगेसनमार्फत अभिभावकको गुनासो आएको बताए । 

कतिपय विद्यालयमा पालिकाको टोलीसहित अनुगमन गर्न जाँदा मनपरी शुल्क लिने, आइएमएस प्रणालीमा विद्यार्थीको संख्या दर्ता नगर्ने, पाठयोजना र कार्ययोजना नबनाउने गरेको पाइएको उनले पालिकाखबरलाई बताए । उनले भने, ‘२३ देखि ७३ प्रतिशत बढी शुल्क लिने गरेको पाइएको छ । सो जानकारी पाएपछि उपमहानगरले प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा शुल्क निर्धारण कार्यदल गठन गरेको छ ।’

 कार्यदलले छलफल गरी साउन महिनाभित्रमा विद्यालयको शुल्कबारे टुंगो लगाइने उनले बताए । 

उपमहानगरपालिकाको माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले  ०७६ सालमा पालिकाले शुल्क निर्धारण गरेको तर अधिकांश संस्थागत विद्यालयले सोभन्दा बढी शुल्क लिने गरेको पाइएको बताए । 

पालिकाले निर्धारण गरेअनुरुप शुल्क लिन, प्रचलित शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भए बमोजिम काम कर्तव्य र अधिकारको पूर्ण रुपमा पालना  गर्न विद्यालयलाई निर्देशन दिएको उनले बताए । पालिकाले दिएको निर्देशन पालन नगरेमा प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कारबाही गरिने उनले जानकारी दिए । 

उनका अनुसार पालिकाभित्र ३४ वटा सामुदायिक र ५७ वटा संस्थागत विद्यालय सञ्चालित छन् ।