close

हेलम्बुकाे लक्ष्य: स्नातकसम्म निःशुल्क शिक्षा

हेलम्बुकाे लक्ष्य: स्नातकसम्म निःशुल्क शिक्षा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाले पालिकाभरि निःशुल्क शिक्षा उपलब्ध गराउन विभिन्न नीति  ल्याएको छ । यसका लागि चालु आर्थिक वर्षदेखि संस्थागत विद्यालयका विद्यार्थीले शुल्क तिर्नु नपर्ने व्यवस्था मिलाउने नीति गाउँपालिकाले लिएको छ । नीजि विद्यालयले विद्यार्थीसँग शुल्क लिन नपाउने नीति तथा कार्यक्रम ल्याइएको पालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो बताए । 

नीजि विद्यालयका शिक्षकहरुको तलब र प्रशासनिक खर्च गाउँपालिकाले व्यहोर्ने उनले जानकारी दिए । ‘सबै विद्यार्थी गाउँपालिकाका सन्तान हुन् । कुनै सन्तानले पढ्न पैसा तिर्न नपर्ने, कुनैले चाहीँ तिर्नुपर्ने छ ।’ यस्तो भिन्नतालाई हटाउन शुल्क उठाउन नपाउने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ह्योल्मोले जानकारी दिए । 

‘बोर्डिङ स्कुललाई सिधैँ गएर बन्द गर भन्न गाह्रो हुन्छ । त्यसैले तपाईंहरुको प्रशासनिक खर्च हामी व्यहोर्छौँ, विद्यार्थीसँगबाट नलिनुस् भन्छौँ । विस्तारै विस्तारै शिक्षामा हामी समानता ल्याउँछौँ,’ उनले पालिकाखबरलाई सुनाए । 

शुल्क निर्धारणको लागि नीजि विद्यालयको बैठक बोलाएको उनले बताए । ‘नीजि विद्यालयको प्रशासनिक खर्च, शिक्षकको तलब पालिकाले व्यहोरेपछी विद्यार्थीबाट पैसा किन उठाउनु पर्यो? उहाँहरुले शुल्क नै उठाउछौँ भन्नुभयो भने नियत गलत छ भनेर बुझे भइहाल्यो नी,’ शिक्षामा व्यापार गर्न नदिने उदेश्यले सो निर्णय गरेको उनले जानकारी दिए । 

सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शैक्षिक गुणस्तर समान बनाउने उद्देश्य गाउँपालिकाले राखेको उनले बताए । 

कक्षा १२ सम्मै दिवा खाजा

गत आवसम्म नेपाल सरकारले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको थियो । यस वर्ष कक्षा ६ काे दिवा खाजाकाे कटौती नेपाल सरकारले गरेको छ । तर हेलम्बुमा भने कक्षा १२ सम्म गाउँपालिकाले दिवा खाजा खुवाइरहेको छ । ‘गाउँपालिकाभरिका ३४ वटा सामूदायिक विद्यालयमै प्रति विद्यार्थी १५ रुपैयाँको दरले सबै विद्यार्थीलाई खाजा खुवाइरहेका छौँ,’ गाउँपालिका अध्यक्ष ह्योल्मोले भने । नीजि विद्यालयमा पनि दिवा खाजा खुवाउने गरि यस आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाइएको उनले जानकारी दिए । 

विद्यालयमा ‘किचेन गार्डेन’

हेलम्बु गाउँपालिकाभित्र उत्पादन हुने खानेकुरा नै विद्यालयको दिवा खाजामा खुवाउने गरेको उनले बताए । उनले भने, ‘सबै सामूदायिक विद्यालयमा हामीले ‘किचेन गार्डेन’ सुरु गरेका छौँ । जहाँ विद्यार्थीहरुले तरकारी खेती गर्नुहुन्छ ।’ 

प्याज, लसुन, गोलभेडा आदि तरकारी विद्यालयमै उत्पादन गरेर खुवाउँदा विद्यार्थीले घरमा पनि फलाउनुपर्ने रहेछ भन्ने बुझ्ने उनले बताए । ‘बुबाआमालाई स्कुलमा त तरकारी फलाउछौँ । घरमा पनि फलाऔँ भनेर विद्यार्थीले भन्छन्,’ उनले भने । 

कृषि प्रधान देश भएरपनि दैनिक करोडौँको तरकारी भारतबाट निर्यात गर्नु दुर्भाग्यपूर्ण अवस्था रहेको उनले बताए । यसलाई हटाउनु राज्यको दायित्व रहेको उनको भनाइ छ । ‘यही कुरालाई मध्यनजर गर्दै प्रत्येक विद्यालयमा किचेन गार्डेन बनाएर विद्यार्थीलाई ताजा तरकारी खुवाइएको छ ।’ 

सबै विषय पढाइ हुने ‘टिचिङ सेन्टर’

पालिकाभित्रका कक्षा ११ र १२ पढ्ने विद्यार्थीहरुहलाई एउटै ठाउँमा राखेर गाउँपालिकाले पढाइ रहेकाे छ । हेलम्बु टिचिङ सेन्टर स्थापना गरेर विद्यार्थीलाई पढाइरहेको पालिका अध्यक्ष ह्योल्मोले जानकारी दिए । 

परिक्षाको लागि फारम आ–आफ्नो विद्यालयमै भर्ने तर पढ्नको लागि भने छात्रावास सहितको टिचिङ सेन्टर जाने व्यवस्था मिलाएको उनले बताए । उनको अनुसार उक्त टिचिङ सेन्टरमा पालिकाका तीनओटा विद्यालयका विद्यार्थीलाई कानुन, व्यवस्थापन, कम्प्युटर साइन्सलगायतका सम्पूर्ण विषयमा अध्यापन गराइएको छ । गाउँपालिका वडा नं २ को भूमेश्वरी मावि, वडा नं ४ को सरस्वती मावि र वडा नं ६ को महेन्द्र माविका विद्यार्थीहरु टिचिङ सेन्टरमा अध्ययन गर्छन् । ‘हाल गाउँपालिकाभरिका २०० जनाभन्दा बढी विद्यार्थीे टिचिङ सेन्टरमा निशुल्क पढिरहेका छन्,’ उनले भने । 

कक्षा १२ सम्म टिचिङ सेन्टरमा पढाइ भएका विषयहरु उपलब्ध गराएर मेलम्ची भ्याली क्याम्पसमा स्नातकसम्म निःशुल्क पढाउने योजना समेत रहेको उनले बातए । 

यस्तै, हेलम्बू मोडल विद्यालयमा कक्षा ९ देखि १२ सम्ममा प्राविधिक धारको विषयमा होस्टलसहित निशुल्क अध्यापन गराइरहेको उनले जानकारी दिए । 

गाउँपालिकाले एमबिबिएस निशुल्क पढाउने

गाउँपालिकाले एमबिबिएस पढ्न चाहने विद्यार्थीलाई निशुल्क पढाउने समेत कार्यक्रम ल्याएको छ । ‘एमबिबिएस पढ्ने विद्यार्थी कति नै हुन्छन् र? राज्यले पढाउँदा के नै खराबी छ र? ,’ उनले पालिकाखबरसँग भने ।

एमबिबिएस पास भएपछी भने गाउँपालिका फर्किएर पालिकाका स्वास्थ्य संस्थामा एक वर्ष अनिवार्य काम गर्नुपर्ने उनले बताए । ‘पैसा तिर्दा पनि गाउँमा आएर काम गर्ने मान्छे छैनन् । तलब लिएर काम गर्ने मान्छे त पालिकाबाट निस्किए हुने,’ उनले आशावादी हुँदै भने। 

हालसम्म एक जना विद्यार्थीलाई एमबिबिएस पढाउन गाउँपालिकाले सघाएको अध्यक्ष ह्योल्मोले जानकारी दिए । 'उहाँको पढाइ सकिन लाग्यो । शत प्रतिशत सहयोग गर्न सकिएको थिएन । अब चाँही एमबिबिएस पढ्न काेही विद्यार्थी इच्छुक हुन्छन् भने शत प्रतिशत सहयोग गछौँ,' उनले भने ।