close

'साक्षर स्थानीय तह' घोषणा गर्ने जिम्मेवारी विद्यार्थी र शिक्षकको

'साक्षर स्थानीय तह' घोषणा गर्ने जिम्मेवारी विद्यार्थी र शिक्षकको

Trulli
ADVERTISEMENT

धनुषा- विदेह नगरपालिकाले 'साक्षर अभियान' सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै स्थानीय बासिन्दालाई साक्षर बनाउनका लागि 'साक्षर अभियान' सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाकाे अनुसार सो अभियान पुरा गर्ने जिम्मेवारी विद्यालयका शिक्षक र विद्यार्थीकाे हुनेछ । नगरपालिकाकाे शिक्षा शाखाका संयोजक संतोषकुमार यादवले सो अभियानमार्फत पालिकाभित्रका १५ देखि ६० वर्षसम्मका नागरिकलाई साक्षर बनाइने बताए । उनले सोका लागि नगरपालिकाले विद्यार्थी र शिक्षकलाई  निर्देशन दिइने जानकारी दिए । उनका अनुसार नगरपालिकालाई केही समयमा 'साक्षर स्थानीय तह' घोषणा गर्ने रणनीति लिइएको छ । 

‘नगरपालिकामा सामाजिक सुरक्षाभत्ताको लागि नविकरण कार्यक्रम सञ्चालन भइरहेको छ । लाभग्राहीले नविकरणका लागि अनिवार्य रुपमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था नगरपालिकाकाे  छ,’ उनले भने, ‘हरेक विद्यार्थी र शिक्षकले आफ्नो परिवारको निरक्षर व्यक्तिलाई साक्षर बनाउनु पर्ने छ ।’ 

उनका अनुसार नगरपालिकाभित्र ल्याप्चे वा औ‌ंठाछापबाट वडा तथा पालिकाको सेवा लिन पाइने छैन । उनले नगरपालिकाको शैक्षिक सुधारको लागि पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताए । उनका अनुसार सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थी अनुपात मिलान गर्नको लागि पालिकाले आन्तरिक स्रोतबाट ४७ जना शिक्षकको पदपूर्ती गरेको छ । 

नगरपालिकाले कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ । स्थानीय पाठ्यक्रममा स्थानीय मठमन्दिर, पौराणिक नदिनाला, धर्म, संस्कृती, पोशाक, पेशा, समुदाय, विद्यार्थीलाई जिविकोपार्जनसम्बन्धी पाठ राखिएको उनले पालिकाखबरलाई बताए । चालू आर्थिक वर्षमा कक्षा ५ सम्म स्थानीय पाठ्यपुस्तक र कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने उनले बताए । 

नगरपालिकाका नगरप्रमुख बेचन दासले शैक्षिक सुधारको लागि संस्थागत विद्यालयलाई मापदण्ड अनुसार दर्ता गराएर मात्रै सञ्चालन गर्न दिइने बताए । उनले पालिकाले निर्माण गरेको मापदण्ड अनुरुप सञ्चालन नभएका संस्थागत विद्यालयलाई खारेज गर्ने समेत जानकारी दिए । 

नगरपालिकाभित्र १३ वटा सामुदायिक विद्यालय, ८ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षा सञ्चालन हुने उनले बताए ।