close

सबै छोरी बुहारीलाई पढाउँदै घ्याङलेख

गाउँपालिकामा हालसम्म उच्च शिक्षा अध्यापन गराउने क्याम्पस छैनन् । गाउँपालिकाले स्थानीयलाई पढ्न प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएर छात्रवृत्ती प्रदान गरिरहेकाे छ ।

सबै छोरी बुहारीलाई पढाउँदै घ्याङलेख

गाउँपालिकामा हालसम्म उच्च शिक्षा अध्यापन गराउने क्याम्पस छैनन् । गाउँपालिकाले स्थानीयलाई पढ्न प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएर छात्रवृत्ती प्रदान गरिरहेकाे छ ।

Trulli
ADVERTISEMENT

सिन्धुली– घ्याङलेख गाउँपालिकाले छोरी, बुहारीको शिक्षामा सहयोग गर्दै आएकाे छ । स्नातक र स्नातकोत्तर पढ्ने छोरी र बुहारीलाई नै गाउँपालिकाले छात्रावृत्ति प्रदान गरिरहेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताए । यसको लागि गाउँपालिकाले ‘घ्याङलेखको छहारी! शिक्षित छोरी, बुहारी!’ कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । 

उपाध्यक्ष घलानले भने, ‘गाउँपालिकाले सूचना टाँस गरेर छात्रवृत्तिको लागि आवेदन माग गर्छ । आवेदन फारम भर्नुहुने सबै छोरी/ बुहारीलाई जुनसुकै विषय पढ्नको लागि पनि गाउँपालिकाले आर्थिक सहयोग गर्छ ।’ शैक्षिक क्षेत्रमा छोरी/ बुहारीको सहभागिता बलियो बनाउन गाउँपालिकाले पुरस्कारको समेत व्यवस्था गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।

‘स्नातक पास गरेर मात्र बिवाह गर्ने पालिकाभित्रका छोरीहरुलाई ५० हजार रुपैयाँ पुरस्कार दिन्छौँ ।’ स्नातकोत्तर पास गरेर बिवाह गर्ने छोरीहरु तथा बिवाह गरेर आउने बुहारीहरुलाई गाउँपालिकाले पुरस्कारस्वरुप ७५ हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए । 

यस्तै गाउँपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रमको नीति समेत चालु आर्थिक २०८०/०८१ वर्षदेखि ल्याएको छ । जस अन्तर्गत प्राविधिक धारका विषयहरु मार्फत नर्स, स्टाफ नर्स, इन्जिनियरिङ, डाक्टर पढ्न चाहने स्थानीयको लागि छात्रवृत्ति दिने व्यवस्था मिलाइने उपाध्यक्ष घलानले जानकारी दिए । ‘यसका लागि हामी छिट्टै आवेदन खुला गर्दै छौँ,’ प्राविधिक धारमा छात्रवृत्तिको लागि कोटा निर्धारण गरेर परिक्षा लिइने  जानकारी दिँदै उनले भने । ‘परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कोटाअनुसार छात्रवृत्ति प्रदान गर्छौ ।’

पालिकाका स्थानीयलाई शिक्षामा प्रात्साहन गर्नका लागि सो कार्यक्रम गाउँपालिकाले ल्याएको उनले बताए । ‘बीचमै पढाइ छाडेर विदेश जाने, चाँडै बिहे गर्ने कार्यलाई रोक्न सकिन्छ की भनेर शिक्षामा प्रोत्साहन दिने कार्यक्रम ल्याइएको हो,’ उनले भने । 

उपाध्यक्ष घलानका अनुसार घ्याङलेख गाउँपालिकाभित्र हालसम्म स्नातक र स्नातकोत्तर पढाइ हुने कुनैपनि क्याम्पस छैनन् । उनले भने, ‘पछिल्ला तीन वर्षदेखि म आफैँ क्याम्पस स्थापनाको लागि पहल गरिरहेको छु । त्रिभुवन विश्वविद्यालय अन्तर्गतबाट क्याम्पस ल्याउन खोजेको तर अनुमति बन्द रहेछ । अन्तबाट अनुमति पाइएको छैन ।’ 

गाउँपालिकामा कक्षा १२ सम्म मात्र पढाइ हुने शैक्षिकसंस्था रहेको उनले जानकारी दिए । ‘यस वर्षबाट बल्लतल्ल माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) मा प्राविधिक धारतर्फ बाली विज्ञान विषय ल्याइएको छ । पालिकाभरी कक्षा १२ सम्म अध्यापन गराइने ४ ओटा विद्यालय छन् । त्यसमध्ये रामपुर माविमा मात्र व्यवस्थापन विषय पढाइ हुन्थ्यो । यस वर्षबाट बाली विज्ञान पनि थप गरिएको छ ।’