close

ग्रामिण जनता माविमा ‘होटल स्कुल’ र ‘स्कुल बस’ सञ्चालनमा

ग्रामिण जनता माविमा ‘होटल स्कुल’ र ‘स्कुल बस’ सञ्चालनमा

Trulli
ADVERTISEMENT

धनकुटा– साँगुरीगढी गाउँपालिका वडा नं ६ नाम्जे स्थित ग्रामिण जनता माध्यमिक विद्यालयले होटल व्यवस्थापन सम्बन्धि पढाई सुरु गरेको छ । विद्यालयले दाताको आर्थिक सहयोगमा ‘स्कुल बस’ खरिद गरेर सञ्चालनमा समेत ल्याएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै होटल व्यवस्थापन सम्बन्धि ‘होटल स्कुल’ र ‘स्कुल बस’को समुद्घाटन गरेको छ । 

पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित भेडेटार सहित आसपासका क्षेत्रमा व्यवसायिक रुपमा संचालित होटलहरुलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले होटल व्यवस्थापन सम्बन्धि पढाई सुरु गरिएको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भुजेलले बताए। 

यस्तै टाढाका विद्यार्थीहरुलाई विद्यालय आउन असहज भएपछि विद्यालयले सहयोग रकम संकलन गरेर बस खरिद गरिएको प्रधानाध्यापक भुजेलले बताए । उनका अनुसार विद्यालयमा पढ्न आउने विद्यार्थीहरुले डेढ देखि दुई घण्टा सम्म हिड्नुपर्ने बाध्यता थियो । बस संचालन भएसँगै विद्यार्थीलाई सहज भएको उनको भनाइ छ । 

एक सय भन्दा बढी दाताहरुले बस खरिदका लागि करिब २७ लाख रुपैँया आर्थिक सहयोग गरेका छन् । साँगुरीगढी गाउँपालिका वडा नं ‍ ६ भेडेटार निवासी थामेश्वर सुब्बाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया, साँगुरीगढी गाउँपालिकाले ५ लाख रुपैँया, धरान–५ सुनसरी निवासी के गुरुङले २ लाख रुपैँया सहित विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय वासिन्दा लगायतले आर्थिक सहयोग गरेका हुन् ।

माल्वासे, झरना, कार्कीछाप, सुनसरीको देवथानबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई विद्यालयको ‘स्कुल बस’ले सेवा दिइरहेको छ । विद्यालयमा हाल ३ सय ३६ जना विद्यार्थी अध्ययनरत छन् ।