close

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

Trulli
ADVERTISEMENT

दाङ - विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौँ’ । त्यही ज्ञानलाई मूर्तरुप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरु लागिपरेका छन् ।

विद्यालयले तीन वर्षअघि समयको माग र अभिभावककै चाहनाअनुसार कृषि विषय पढाइको थालनी ग¥यो । त्यही कृषि विषयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमसँग विद्यालयले जोड्ने काम ग¥यो । 

बिहानी शत्रको सैद्धान्तिक कक्षामा विद्यार्थीहरु एकाग्र भएर किताबमा भएका कुराहरुलाई कापीका पानामा भरिरहेका हुन्छन् । विद्यालयको त्यही सैद्धान्तिक ज्ञानलाई लिएर विद्यार्थी निकै आत्मविश्वासका साथ अभ्यासका लागि खेतबारीमा पुग्छन् । 

घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ मावि नारायणपुरका ६५ विद्यार्थी बिहान कक्षा कोठामा भेटिन्छन् भने दिनभर खेतबारीमा भेटिन्छन् । बिहान पढेको कुरालाई व्यवहारमा उतार्न उनीहरु दिउँसो खेतबारीमा भेटिने गरेका हुन् । विद्यार्थीहरुले कक्षामा सैद्धान्तिक ज्ञान र बारीमा सीप मात्रै सिकेका छैनन्, सीपलाई श्रम र उत्पादनसँग जोडेर आम्दानी पनि गर्ने गरेका छन् । 

विद्यालयको हातादेखि दुई किलोमिटर पर रहेको विद्यालयको आफ्नै चार बिगाहा जग्गा विद्यार्थीलाई पर्खिरहेको हुन्छ । विद्यालयको अटो रिक्सा चढेर विद्यार्थीहरु खेतमा पुग्छन् र सुरु हुन्छ प्रयोगात्मक अभ्यास । कामको बाँडफाँड गर्दै उनीहरु कोही ससाना बिरुवाको स्याहारसुसारमा लाग्छन्, कोही फुल्दै गरेको सिमीमा डोरी लगाउन थाल्छन् त कोही तयारी अवस्थाको बोडी टिप्न थाल्छन् । विद्यार्थीहरुका लागि खेतबारीमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण सबैको व्यवस्था विद्यालयले नै गरेको छ । 

तरकारी खेतीका लागि उपलब्ध गराएको स्थानमा तरकारी खेती, बिरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्न व्यस्त हुने गरेको विद्यार्थी रेणु डिसीले बताए। विद्यालयमा पढेका कुराहरु खेतबारीमै व्यावहारिक रुपमा सिक्दै आम्दानी गर्न थालेपछि विद्यार्थीहरु उत्साहित भएको अर्का विद्यार्थी सविना बुढा क्षेत्रीको भनाइ छ ।

 विद्यालयमा पढाइसँगै खेतबारीमा काम गरेर आम्दानी गर्न थालेपछि उनीहरु बेमौसमी तरकारी फलाउने काममा पनि खटिएका छन् । मौसमअनुसार भिन्डी, बोडी, खुर्सानी, काउली, काक्रासँगै च्याउलगायत अरू तरकारी उत्पादन गर्ने गरेको विद्यार्थी सम्झना पन्तले बताए ।

 उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउनका लागि विद्यालयले विद्यार्थीहरुका लागि अटोको व्यवस्था गरिदिएको छ । त्यही अटोका माध्यमबाट उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेको विद्यार्थी रोमिङ चौधरीले बताए ।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने स्रोत बनेको कृषि प्रशिक्षक पर्याप्त चौधरीले बताए । तरकारी खेती गरेबापत विद्यालयमा २०, विद्यार्थीले ५० र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत पाउने र सो रकम बैंक खातामा जम्मा हुने गरेको छ । उनीहरुले अहिलेसम्म रु दुई लाख ५० हजार बराबरको तरकारी बिक्री गरिसकेको जनाएका छन् ।