close

सामुदायिक विद्यालयमा पशु र कृषि स्याहार्दै बालबालिका

सामुदायिक विद्यालयमा पशु र कृषि स्याहार्दै बालबालिका

Trulli
ADVERTISEMENT

सर्लाही - बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुआत गरेका छन् । 

‘सीप बिनाको शिक्षा ज्योति बिनाको आँखा’ जस्तै हुने जनाउँदै बागमतीका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरु गरिएको जनजागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोख्रेलले बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएका विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पशु पालन तथा कृषिजन्य पदार्थको उत्पादनमा विद्यार्थीलाई जोडेका छन्, भने अन्य विद्यालयले आफैँले नयाँ खालका सीप विकासका कार्यक्रम सञ्चालन गरेका गरेका हुन ।

सो कार्यक्रम अन्तरगत कुखुरा तथा खसी पालन, तरकारी तथा फलफुल उत्पादनका साथै च्याउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन भइरहेका र राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम लागू हुनबाँकी रहेको विद्यालयमा गमला बनाउने, पातका टपरी बनाउने, सिकाकटाइ लगायतका सीप विकास र अर्थोपार्जनका कार्यक्रम सुरु गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार शैद्धान्तिक शिक्षाले मात्र बालबालिकालाई दक्ष बनाउन नसकिने भएकाले सीप र स्वारोजगार सहितको व्यवहारिक शिक्षामा बागमती नगरपालिकाभित्र रहेका माविस्तरका सामुदायिक विद्यालयले चासो राखेका हुन ।

सोही कार्यक्रम अन्तरगत रहेको पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत केही विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन भएका छन् ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन नभएका  विद्यालयले आन्तरिक व्यवस्थापनमा स्वरोजगारमूलक तथा सीपमूलक कार्यक्रम सुरु गरेका नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए ।

जनवाल कल्याण माविले पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका इच्छुक १५ जना विद्यार्थीलाई शिक्षासँगै सीप र आयआर्जनमा जोडेको प्रधाानध्यापक प्रकाशबहादुर जिम्वाले बताए । जनवाल कल्याण माविले राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमका लागि पटक–पटक फारम भरेको भए पनि स्वीकृत नभएपछि विद्यालयले आफ्नै पहलकदमी र आन्तरिक व्यवस्थापनमा सीपमूलक कार्यक्रम सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर बोहराले बताए । उनका अनुसार छात्रछात्रालाई सिमेन्टेड गमला निर्माण गर्न सिकाउन थालिएको हो । 


स्कुलका छात्रछात्राले तयार गरेको गमला गाउँघर बिक्री वितरण गरिने र बाँकी रहे नगरपालिकाको समन्वयमा बजार व्यवस्थापन गर्ने आश्वासन शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

 यस किसिमको अध्यानअध्यापनले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप प्राप्त गर्न सहज हुनुका साथै उनीहरुले पढ्दै कमाउँदै गर्दा आम्दनीसमेत गरिरहेका बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले बताए । गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा कापि कलमसमेत किन्न नसक्ने अवस्थाका अभिभावकलाई यस प्रकारका कार्यक्रम सञ्चालन हुँदा निकै राहत मिल्ने उनको भनाइ छ । 

नगरपालिकाले योजना नै बनाएर नगरको शिक्षाको गुणस्तर सुधार गर्नुका साथै विद्यार्थीलाई सीप र आयआर्जनसँग जोड्न काम सुरु गरेको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए । उनका अनुसार कोरा किताबी ज्ञानले सीप नसिकाउने र सीप नसिके आयआर्जन नहुने हुँदा नगरका हरेक मानिसलाई आफ्नो क्षमता अनुसारको आयआर्जनमा जोड्ने योजना नगरपालिकाले बनाएको छ ।