close

पालिकाभित्र शैक्षिक गुणस्तर सुधार सम्बन्धी २ दिने अन्तरक्रिया सम्पन्न

पालिकाभित्र शैक्षिक गुणस्तर सुधार सम्बन्धी २ दिने अन्तरक्रिया सम्पन्न

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - विद्यालयको शैक्षिक गुणस्तर सुधार विषयमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक र जनप्रतिनिधिबिच अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको आयोजनामा साउन ८ र ९ गते राडी ज्युला शिक्षा क्याम्पसमा शैक्षिक गुणस्तर सुधार  सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो । 

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र जनप्रतिनिधीबिच भएको अन्तरक्रियामा विद्यालयस्तरका समस्या, शिक्षाको गुणस्तर कसरी बढाउने लगायतका विषयमा छलफल भएको थियो। शैक्षिक गुणस्तर सुधार विषयको अन्तरक्रियामा शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाले विद्यालयको गुणस्तर सुधारका लागि सामाजिक कार्य गर्न आउनेहरू राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने बताए । 

कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र जनप्रतिनिधिलाई खोज तथा अनुसन्धानात्मक शिक्षामा जोड दिन अनुरोध गरेका छन्। शैक्षिक गुणस्तर बढाउन व्यवहारिक शिक्षा र खोजमुलक शिक्षा अनिवार्य हुनुपर्ने कोइरालाले जिकिर गरे । उनले भने, ‘शिक्षाको गुणस्तर सुधार गर्न स्थानिय तहलाई जिम्मा लगाएर मात्र नहुने र यसका लागि पाठ्यक्रम, लगानी र शिक्षकको दायित्व तथा अभिभावकको भुमिका किटान हुनुपर्छ ।’ शिक्षाविद् कोइरालाले देश र परिवेश सुहाउने गरी शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय र उच्च शिक्षाका के कस्ता विषयमा ध्यान दिने भन्ने बिषयमा  सरकार प्रष्ट हुनुपर्ने बताए ।

त्यस्तै ‘पढ्दै कमाउँदै कार्यक्रम’का शिक्षक नारायण सिग्देलले आफ्नो वरपर रहेका सम्भावनालाई भरपूर सदुपयोग गरेर त्यसैबाट आर्जन गरेर विधार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न सकिने बताए । सुर्खेत बराहतालको जनज्योति माविमा पढ्दै–कमाउँदै कार्यक्रम शुरु गरेका प्रधानाध्यापक सिग्देलले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्र तोकिएका र विद्यालयले आवश्यकता अनुकूल विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्ने बताए  । 

दुई दिने शैक्षिक सुधार अन्तरक्रिया कार्यक्रममा बोल्दै  आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले आफ्नै गाउँठाउँमा रहेका विविध सम्भावनाहरुलाई खोजी गरेर निश्चित क्षेत्राधिकारभित्र राखेर विद्यार्थीलाई व्यवसायिक शिक्षामा जोड्न शिक्षक तथा विद्यालयहरुलाई निर्देशन दिएका छन्। प्रमुख केसीले पढ्दै कमाउदै कार्यक्रमलाई  कार्यन्वयन गर्न नगरपालिका तयार रहेकोले सोही अनुसार विद्यालयहरुले गृहकार्य गर्न अनुरोध गरे । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले अक्षयकोष  स्थापना गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा पालिकाका सबै विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।