close

कापी र पोशाक पाएपछि फुरुङ बालबालिका

कापी र पोशाक पाएपछि फुरुङ बालबालिका

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवल उपमहानगरपालिकाले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरी बाल दिवस बनाएको छ । उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएको हो ।

शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर वडा नम्बर ५ मास्थित बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन् ।

पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्ने बताए।

'घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो हो, घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो हुँदैन,' उनले भने, 'केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको छ, घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ पनि हामी सचेत हुनुपर्दछ।'

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्ने बताइन् ।

कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए।