close

दरबन्दी अनुसार आवश्यक शिक्षक ४० : कार्यरत ६

दरबन्दी अनुसार आवश्यक शिक्षक ४० : कार्यरत ६

Trulli
ADVERTISEMENT

सुनसरी - एउटा माध्यमिक तह सञ्चालनका लागि कम्तीमा ५ जना विषयगत शिक्षक आवश्यक हुन्छ । शिक्षा ऐनले व्यवस्था गरेको दरबन्दीअनुसार शिक्षक भएमा शैक्षिक गुणस्तरको अपेक्षा गर्न सकिन्छ ।

तर कोशी गाउँपालिकाभर ८ वटा माध्यमिक तहका सामुदायिक विद्यालय भए पनि ६ जनामात्र माध्यमिक तहका शिक्षक कार्यरत हुँदा शैक्षिक गुणस्तरसँगै माध्यमिक तह सञ्चालनमा समस्या भएको छ । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीका अनुसार शिक्षक दरबन्दी अपुग भएकाले पठनपाठनमासमेत समस्या भएको छ । शिक्षकको लागि आफूहरूले सम्बन्धित निकायमा पटक/पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

गाउँपालिकामा ६ वटा सरकारद्वारा सञ्चालित र दुई वटा मदरसा गरी ८ वटा माध्यमिकस्तरका विद्यालय सञ्चालनमा रहेका छन् । ती सबै विद्यालयमा शिक्षक दरबन्दी अपुग रहेको उनले पालिकाखबरलाई बताए ।

‘माध्यमिक तहको दरबन्दी नभएकाले प्रावि र निमाविका शिक्षकले पठनपाठन गराउँदै आउनु भएको छ,’ उनले भने, ‘गाउँपालिकाले पनि आन्तरिक स्रोतबाट शिक्षकको व्यवस्थापन गर्दै आएका छौँ ।’ आन्तरिक स्रोतबाट ३५ जना शिक्षकको व्यवस्थाप गरेको उनले सुनाए । उनीहरूको पारिश्रमिकको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ ।

छिमेकी स्थानीय तहको विद्यालय टाढा भएकाले गाउँपालिकाले आर्थिक भार व्यहोरेर शिक्षकको व्यवस्थापन गर्न बाध्य भएको उनको गुनासो छ । ‘अरु पालिकाका विद्यालयमा जान सम्भव छैन । त्यसैले पालिकाले आफैँले शिक्षकको व्यवस्थापन गरी कक्षा सञ्चालन गर्दै आएका छौँ,’ उनले भने । 

उनका अनुसार गाउँपालिकामा ३१ वटा सामुदायिक र २३ वटा मदरसा गरी ५४ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।