close

बालमैत्री नमोबुद्धकाे लक्ष्य : न बजेट न त याेजना

बालमैत्री नमोबुद्धकाे लक्ष्य : न बजेट न त याेजना

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– गत आर्थिक वर्ष २०७९/०८० मा नमोबुद्ध नगरपालिकालाई 'बालमैत्री स्थानीय शासन' घाेषणा गर्ने कुराे सबैतिर फैलियाे । घाेषणा गर्नकै लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले विभिन्न स्थानीय तहमा भ्रमणसमेत गरे । तर, नमोबुद्ध नगरपालिकाको 'बालमैत्री स्थानीय शासन' घोषणा गर्ने लक्ष्य भ्रमणमै सिमित भएको छ । 

साे कार्यक्रमकाे अन्तर्गतमा रही नगरपालिकाले गत आवमा नेपालकै पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवल नगरपालिका र बागमती प्रदेशकाे बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेका थिए ।

गत वर्ष नै घाेषणा गर्ने लक्ष्य लिएका नगरपालिकाले चालु आव २०८०/२०८१ मा साे कार्यक्रमका लागि बजेटसमेत विनियाेजन गरेकाे छैन । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले साे घाेषणा गर्ने बालबालिकाकाे परामर्शका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेकाे नगरपालिकाकाे महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी प्रमुख तारादेवी सुनुवारले बताइन् । उनकाअनुसार गत आवमै बागमती प्रदेश सरकारबाट साेही कार्यक्रमका लागि डेढ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे थियाे । 

सो बजेटबाट पालिकामा रहेका सामुदायिक र निजी गरेर ४७ वटै विद्यालयमा बालमैत्री शिक्षक राखिएको उनले बताइन् । बालक्लबको गठन र पालिकामा बालबालिकाको अवस्थाको अध्ययनसहितको प्रोफाइल निर्माणको काम गत आवमै भएको उपशाखा प्रमुख सुनुवारले पालिकाखबरसँग बताइन् । नगरपालिकाले तयार गरेकाे प्रोफाइललाई यस आवमा फाइनल गर्ने उनले सुनाइन् । 

पालिकाले बालमैत्री पालिका निर्माणको लागि चालु आर्थिक वर्षमा बजेट नछुट्याएपछि बिना बजेट गर्न सकिने कार्यक्रम शाखाबाट सञ्चालन गरिने उनले बताइन् । उनले भनिन्, ‘चालु आर्थिक वर्षको कार्यक्रम सुरु भएको छैन । आचारसंहिता तयार गर्ने काम गर्छौँ । यसको लागि छपाईको मात्र खर्च लाग्छ । छपाईको लागि नगरपालिकासँग छुट्टै बजेट माग्छौँ ।’ 

विद्यालय व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्न बजेटको आवश्यक नपर्ने भएकाले तिहारपछि साे तालिम सञ्चालन गर्ने उनले बताइन् । विद्यालयका प्रधानाध्यापकसँग 'बालमैत्री कक्ष' बनाउन मौखिक छलफलहरु भइरहेको छ । उनले भनिन्, ‘बालमैत्री पालिका निर्माण गर्न नगरपालिकाबाट बजेट छुट्याएको छैन । महिला र बालबालिकाको लागि आएको बजेटबाट बालमैत्री सम्बन्धी कार्यक्रमलाई पनि समेट्ने कोशिस गछौँ ।’

बालमैत्री स्थानीय तह निर्माणका लागि निरन्तर कार्यक्रम सञ्चालन नगरेमा यसकोबारेमा समाजले बिर्सिने उपशाखा प्रमुख सुनुवार बताउँछिन् । त्यसैले सकेसम्म निरन्तरता दिन खोजेको उपशाखा प्रमुख सुनुवारले सुनाइन्। तर आर्थिक पक्षबिना नगरपालिकालाई बालमैत्री स्थानीय शासन बनाउन सम्भव नरहेकाे उनको भनाइ छ । 'बालमैत्री नमोबुद्ध नगरपालिका' निर्माण गर्न चालु आर्थिक वर्षमा करिब एक करोड रुपैयाँ आवश्यक रहेको उनी बताउँछिन् । ‘८० लाख रुपैयाँभन्दा बढी बजेटको माग गरेका थियौँ । तर नगरपालिकाबाट शून्य बजेट विनियोजन भयो,’ उनी भन्छिन् । 

बालमैत्री घाेषणा गर्न प्रेम विवाह तगाराे

उनको अनुसार नगरपालिकामा बाल विवाहको नियन्त्रण गर्नु प्रमुख चुनौती हो । ‘यहाँ बाल श्रमभन्दा पनि बालविवाहको समस्या धेरै छ । पालिकाभरी गत आर्थिक वर्षमा जम्मा ३ जनाको बालविवाह भएकाे भन्दै हामीसँग उजुरी दर्ता भयो । विद्यालयमा हामी पुग्दा विद्यार्थीहरुबाटै उनीहरुको साथीहरुले विवाह गरेका कुराहरु सुनाउँछन् । तर उजुरी न त अभिभावकले गर्छन् न त अरुले नै,’ उनी सुनाउँछिन् । 

बालबालिका र अभिभावकलाई बाल विवाह र बाल शोषणको बारेमा अभिमुखीकरण नगरिएकाले बाल विवाह र बाल यौन शोषणको कुरा बाहिर नआएको उनको भनाइ छ । नगरपालिकाले सचेत बनाउन सकेमा मात्र यस्ता घटना कम हुने बताउँदै उनी भन्छन्, ‘कार्यक्रमहरु सञ्चालन गर्न बजेट चाहिन्छ । बजेट नै विनियोजन नगरि बालमैत्री नगरपालिका घोषणा गर्न सम्भव छैन।’

समुदायकाे मिलेमताेमा बाल विवाह हुने भएकाले कम मात्रै उजुरी आउने उनले आशंका व्यक्त गरिन् । 'पालिकामा मागी विवाह भन्दा पनि बालबालिकाहरुले प्रेम विवाह गर्छन्,' उनले भनिन् । विवाहलाई रोक्न नगरपालिकाले कुनै संयन्त्र नबनाएको उनले गुनासो गरिन् । बाल यौन शोषणका घटना पनि छिटपुट मात्र बाहिर आउने गरेको उनले बताइन् ।