close

बिहान र बेलुका गृहकार्य गराउन शिक्षक खटाउँदै खैरहनी

बिहान र बेलुका गृहकार्य गराउन शिक्षक खटाउँदै खैरहनी

Trulli
ADVERTISEMENT

चितवन- खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले काम गर्न लागेको हो ।

नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए । 

उनका अनुसार कम्तीमा २० स्थानमा गृहकार्य कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको छ । विपन्न १५ जना बालबालिका जुटेपछि ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्ने छ ।
 
उनले भने, “स्कुलमा पढेर मात्र पुग्दैन । घरमा अभिभावकले पढाउन नसक्ने ठाउँमा हामीले गृहकार्य कक्षा सञ्चालन गर्न लागेका हौँ ।” घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने छ । यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास छ ।

नगरपालिकाले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म यस वर्ष पनि पढाउने तयारी गरेको छ । गत वर्ष १० कक्षालाई मात्रै पढाइएकोमा यस वर्ष कक्षा ८ पनि थप गरिँदै छ । अति विपन्नको हकमा वडाको सिफारिसमा परीक्षाको समयमा खानाको समेत व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको नगरप्रमुख खनियाले जानकारी दिए । 

नगरभित्र विपन्न परिवारलाई निःशुल्क पढाउने गरी १० जोड दुईमा विज्ञान विषयको समेत पढाइ थालिएको छ । खैरहनी माविमा नगरपालिकाको सहयोगमा विज्ञान पढाइ सुरु गरिएको हो । विज्ञान विषयको पढाइमा सबै विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ । अन्य व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विज्ञान पढ्ने विद्यार्थीलाई साइकल, खाजा र पोसाकको समेत व्यवस्था गरिएको छ । अन्य विषयमा कक्षा ११ का विद्यार्थीलाई विद्यालयले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत छात्रवृत्तिसमेत दिन सुरु गरेको छ ।
 
नगरभित्र विषयगत युवा स्वयमंसेवक शिक्षक राखिएका छन् । नगरपालिकाको सहयोगमा हाल ५८ जना विषयगत युवा शिक्षक कार्यरत रहेको खनियाले जानकारी दिए । विज्ञान, अङ्ग्रेजी, कम्प्युटर र गणित विषयमा आधारभूत र माध्यमिक तहमा शिक्षक राखिएका हुन् ।