close

शैक्षिक सुधारका लागि आँबुखैरानीमा रकम संकलन

शैक्षिक सुधारका लागि आँबुखैरानीमा रकम संकलन

Trulli
ADVERTISEMENT

तनहुँ- आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियानलाई अगाडि बढाएको छ । गाउँपालिकाले सुरु गरेको सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा यहाँका सङ्घसंस्थाले हातेमालो गरेका छन् । 

गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घसंस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । उक्त अभियानका लागि हालसम्म १३ लाख ६९ हजार ४०८ सङ्कलन भएको छ । हालसम्म २४ वटा सङ्घसंस्थाले अभियानका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

यो अभियानमा नमूना बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार १११ रुपैयाँ, सत्रसय बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार रुपैयाँ, मित्रता बचत तथा ऋण सहकारी संस्थाले ६० हजार ५०५ रुपैयाँ, अकला सहकारीले ३० हजार रुपैयाँ, गरिमा सहकारीले ५५ हजार ५५५ रुपैयाँ, माइ छिम्केश्वरी सहकारीले ५५ हजार ५५५ रुपैयाँ, एकता बचत सहकारीले  एक लाख १६७ सहयोग गरेको गाउँपालिकाले जनाएको छ । 

मनकामना सहकारीले एक लाख ६० हजार रुपैयाँ, सूर्योदय सहकारीले पाँच हजार रुपैयाँ, सगुन बचत तथा ऋण सहकारीले एक लाख एक हजार रुपैयाँ, समाज सेवा बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार रुपैयाँ, भगवती बचत तथा ऋण सहकारीले एक लाख ५० हजार रुपैयाँ, रामयुग बचत तथा ऋण सहकारी संस्थाले ३३ हजार ३३३ रुपैयाँ, मिलीजुली कृषि सहकारीले १८ हजार रुपैयाँ, गाउँबेँसी कृषि केन्द्रले १० हजार रुपैयाँ, आँबुखैरेनी क्रिष्टियन समाजले ६२ हजार ५१५ रुपैयाँ, उन्नति बचत तथा ऋण सहकारीले ३५ हजार रुपैयाँ, सफल बचत तथा ऋण सहकारीले १५ हजार ५५५ रुपैयाँ, अनुज ब्यूटीपार्लरले २५ हजार ५५५ रुपैयाँ, बरादी दुग्ध उत्पादक सहकारी संस्थाले २५ हजार रुपैयाा सहयोग गरेको छ । 

अध्यक्ष चुमानले भने, 'हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्ने योजनासहित अगाडि बढेका छौँ । त्यसका लागि हातेमालो गरेर यहाँका सङ्घसंस्थाले सामाजिक उत्तरदायित्व वहन गरेका छन् ।'

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए । चुमानले भने, 'हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।'

रुप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्र छात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्तामोजा तथा टिसर्ट वितरण गरिएको छ । गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी मावि र मस्र्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ । 

शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्टटिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ । उनले भने, 'कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । त्यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।'

सिकाइ गुणस्तर योजनाअन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्याङ्कन शिक्षण प्रतिवेदनअनुसार समस्याको पहिचान गरी समाधानतर्फ पहल गरिन उहाँले बताउनुभयो । विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै श्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानको भनाइ छ । 

 प्रोत्साहन योजनाअन्तर्गत जनप्रतिनिधिको छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आएको छ । 'सामुदायिक विद्यालयमा अपनत्व बढाउन यो निर्णय कार्यपालिका बैठकबाट भएबमोजिम कार्यान्वयनमा आएको छ,' उनले भने, 'जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालय गुणस्तरको कुरा गर्न सुहाउँदैन ।'

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताए । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले भने ।

गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारका लागि भौतिक एवं शैक्षिक क्षेत्रमा जोड दिइएको चुमानले बताए । 'कार्यालयको सवारी पुरानो भइसकेको छ, कतै जाँदा दुःख दिन थालेको छ । तर हामीले नयाँ गाडी किन्ने निर्णय गरेनौँ,' उनले भने, 'बरु उक्त रकम विद्यालयमा लगानी गर्ने निर्णय गरेका छौँ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस वितरणको तयारी गरेका छौँ ।'

आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले आफ्नो भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वडा कार्यालय बरु अन्य ठाउँमा सञ्चालन गरेर सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।