close

शिक्षक दरबन्दी शून्य : ०.७ प्रतिशत विद्यार्थी मात्र एसइईमा पास

शिक्षक दरबन्दी शून्य : ०.७ प्रतिशत विद्यार्थी मात्र एसइईमा पास

Trulli
ADVERTISEMENT

रोल्पा– सुनछहरी गाउँपालिकामा माध्यमिक तहमा अध्यापन गराउने शिक्षकको दरबन्दी शून्य छ । गाउँपालिकाभित्र सञ्चालित माध्यमिक तहका विद्यालयका लागि संघ सरकारबाट  हालसम्म पनि  शिक्षकको दरबन्दी छुट्याइएको छैन । 

गाउँपालिकाभित्र ३३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख रेग बहादुर पुन बताउँछन् । 'सोमध्ये माध्यमिक विद्यालय ९ वटा छन् । दुईवटा कक्षा ८ सम्म पढाइ हुने आधारभुत विद्यालय छन् । ९ वटा कक्षा ५ सम्म पढाइ हुने र कक्षा तीनसम्मका १३ वटा विद्यालय छन्,' उनले पालिकाखबरसँग भने  

गाउँपालिकाभरी प्राथमिक र आधारभुत तह गरेर ७६ जना दरबन्दीमा शिक्षक उपलब्ध भएको उनले जानकारी दिए । जसमध्ये कक्षा ८ सम्मका लागि १५ जना र प्राथमिक तहमा ६१ दरबन्दी शिक्षक कार्यरत छन्। 

गाउँपालिकामा दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरुको शैक्षिक गुणस्तरमासमेत असर परेको शिक्षा शाखा प्रमुख पुन बताउँछन् । गत शैक्षिक सत्र २०७९ मा गाउँपालिकाबाट एसईई परिक्षा दिएका विद्यार्थी मध्ये ०.७ प्रतिशत विद्यार्थीहरु परिक्षामा उत्तीर्ण भएको उनले पालिकाखबरसँग बताए ।

उनका अनुसार ४ जना विद्यार्थीले मात्र एसईई परिक्षा उत्तीर्ण गरेका हुन् । उत्तीर्ण भएका मध्ये एक जनाले बी प्लस, एकजनाले बी र बाँकीले सी प्लस ल्याएका हुन् । गत वर्ष २६० जना विद्यार्थीहरु एसईई परिक्षाको फारम भरेको मध्ये २०३ जना विद्यार्थी परिक्षामा सहभागी भए । 

यस शैक्षिक सत्रमा गाउँपालिभरमा ३१२ जना विद्यार्थीहरु एसईई परिक्षा दिने तयारीमा छन् । विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार गर्न विद्यालयले विद्यालय समयबाहेक पनि अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको उनले बताए  । ‘यस आर्थिक वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गर्दा लाग्ने खर्च व्यहोर्ने गरि  अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रोत्साहन कार्यक्रम ल्याएका छौँ ।’ सो कार्यक्रम गाउँपालिकामा सुरु हुन भने बाँकी रहेको उनले बताए ।   

शिक्षक पाउन पनि  गाउँपालिकामा समस्या

गाउँपालिकालाई आवश्यक शिक्षकहरुको व्यवस्थापन गर्न आर्थिक भार परेको शिक्षा शाखा प्रमुख पुनले सुनाए । उनको अनुसार गाउँपालिकाबाट एक आर्थिक वर्षमा शिक्षकको तलब भुक्तानीको लागि मात्र १ करोड २७ लाख रुपैयाँ खर्च हुन्छ । 
गाउँपालिकाले थामी भाषाको स्थानीय पाठ्क्रम बनाएर अध्यापन गराइरहेको छ ।

आन्तरिक स्रोतबाट भाषा पढाउनका लागि ११ जना शिक्षक नियुक्ती गरेको छ । संघ सरकारबाट बाल विकास केन्द्रका लागि पठाएको शिक्षक अपुग भएकाले गाउँपालिकाबाट ८ जना बाल विकास शिक्षकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । आधारभुत र माध्यमिक तहका शिक्षकहरु गरेर गाउँपालिकाले १८ जना शिक्षकको व्यवस्थापन गरेको छ । 

संघ सरकारले २०७६ देखि गाउँपालिकामा शिक्षण सिकाई अनुदान मार्फत प्रति माध्यमिक विद्यालय  बराबर एकजना शिक्षक उपलब्ध गराएको उनले बताए । उनले भने, ‘तर त्यो एक वर्षको लागि मात्र मान्य हुन्छ । कुनै वर्ष बढी शिक्षक पठाउँछ कहिले शिक्षक सङ्ख्या घटेर आउँछ ।’

गाउँपालिकामा पढाउने शिक्षक खोज्न पनि मुश्किल हुने गरेको उनी बताउँछन् । ‘१५ दिनको समयसीमा राखेर शिक्षक गरिएको छ भने म्याद थप गरेपछि मात्र शिक्षकका लागि आवेदन पार्छन्,’ उनी भन्छन् । शिक्षक खोज्न लामो समय लागेपनि शिक्षक नै नपाउने समस्या भने हालसम्म नभएको उनी बताउँछन् । आवश्यकताअनुसार विद्यालयहरुले पनि शिक्षकको खोजी गर्ने गरेको उनले जानकारी दिए । 

तर, शिक्षकहरु पालिकाभित्र पाउन मुश्किल रहेकाले जिल्ला बाहिरबाट समेत ल्याउनु पर्ने अवस्था छ । विशेषगरि अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुको अभाव हुने गरेको उनी बताउँछन् । ‘अङ्ग्रेजी विषयमा शैक्षिक अनुमति पाएका शिक्षकहरु अलिअलि पालिकाभित्र  छन् । तर विज्ञान र गणित शिक्षकहरु अन्य ठाउँबाट ल्याउनुपर्ने हुन्छ । शिक्षकको अभावमा लाइसेन्स नभएका शिक्षकहरु पनि दुई तीनजना राखेका छौँ,’ उनी भन्छन् ।