close

कक्षामै खाना पकाउनेछन् शिवसताक्षीका विद्यार्थीहरू

कक्षामै खाना पकाउनेछन् शिवसताक्षीका विद्यार्थीहरू

Trulli
प्रतिकात्मक
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाले 'विद्यार्थीसँग मेयर सीप व्यावहारिक शिक्षा' कार्यक्रम सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले स्कूले बालबालिकालाई सैद्धान्तिक साथै व्यावहारिक सिकाइका लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

कार्यक्रमअन्तर्गत पालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजा तथा नास्ता बनाउन सिकाउने नगरपालिकाका नगरप्रमुख मेगाहांग थोप्रा(रोशन)ले पालिकाखबरलाई बताए । उनका अनुसार नगरप्रमुखसहितको टोली विद्यालयमा गई विद्यार्थीको पाक शिक्षाको सीप हेर्नेछ । 

सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सो कार्यक्रममा सहभागी गराउने उनको भनाइ छ । उनले भने, 'नगरप्रमुखसहितको टोली गएर विद्यार्थीले बनाएको खाना, चिया तथा नास्ताको परीक्षण गर्ने छौँ । साथै नगरप्रमुखसँग विद्यार्थीले अन्तरक्रिया गर्ने छ ।'

सो कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक सीपसँग पनि जोड्न सकिने उनको विश्वास छ । हरेक शुक्रबार खाजा बनाउन सिकाइने उनले सुनाए ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख छविलाल ढकालका अनुसार पालिकाभित्र हाल ३५ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये करिब ५ वटा विद्यालयमा सो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले पालिकाखबरलाई बताए ।

'नगरप्रमुख, जनप्रतिनिधि तथा कुकको टोलीसहित विद्यालयमा जानु हुनेछ । विद्यार्थीलाई चाउमिन, मम, तथा विभिन्न खाजा तथा खाना बनाउन सिकाइने छ,' उनले भने, 'सोही सिकाइको आधारमा विद्यार्थीलाई खाना र खाजा बनाउन सिकाइने छ ।' विद्यालयमा एक दिन वा केही दिन खाना तथा खाजा बनाउन सिकाइने उनले बताए । साथै स्टल राखेर पनि सिकाउन सकिने उनको भनाइ छ ।

विद्यार्थीलाई खाना र खाजा बनाउन सिकाएसँगै विद्यालय तथा नगरस्तरीय कार्यक्रममा पकाउन लगाउने योजना बनाएको उनले बताए । 'विद्यार्थीलाई खाना र खाजा बनाउन सिकाएपछि विभिन्न कार्यक्रममा उनीहरुलाई सहभागी गराइने छ,' उनले भने । 

नगरस्तरीय प्रतियोगिता र विद्यालयका विभिन्न कार्यक्रममा विद्यार्थीहरुलाई नै खाजा बनाउने जिम्मेवारी दिइने उनले सुनाए । 'खाजा बनाउनका लागि पालिकाले केही रकमको व्यवस्थापन गर्ने छ,' उनले भने, 'कार्यक्रममा विद्यार्थीले खाजा बनाएर बेच्न सक्नेछन् । सोको आम्दानी केही विद्यार्थीलाई र केही नगरपालिकालाई हुनेछ ।'

सो कार्यक्रमबाट विद्यार्थी आत्मनिर्भरसँगै सीपयुक्त हुने उनले पालिकाखबरलाई सुनाए । नगरपालिकाले गत वर्ष मेयरसँग अन्तरक्रिया कार्यक्रम सञ्चालनमा राखेको उनले बताए । सोही कार्यक्रमलाई चालु आवमा केही परिमार्जन गरेको उनको भनाइ छ ।