close

विगतमा विज्ञान करको विषय तर, हाल रुचीको विषय

जलेश्वर नगरपालिकामा रहेका ९ वटै माध्यमिक तहमा विज्ञान प्रयोगशाला

विगतमा विज्ञान करको विषय तर, हाल रुचीको विषय

जलेश्वर नगरपालिकामा रहेका ९ वटै माध्यमिक तहमा विज्ञान प्रयोगशाला

Trulli
ADVERTISEMENT

महोत्तरी- जलेश्वर नगरपालिका-४ काे सुकदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरी करिब तीन दशकदेखि शिक्षण पेशामा आवद्ध छन् । निजी विद्यालयमबाट सुरु भएको उनको शिक्षण पेशा हाल माध्यमिक तहको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

तीन दशकमा उनकाे जिम्मेवारी मात्रै फेरिएन, कार्यशैली पनि फैरिएकाे उनी सुनाउँछन् ।  प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै ०७३ बाट विद्यालयमा विज्ञान ल्याब सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । ल्याब सञ्चालनमा आएसँगै विज्ञानको सिकाइ पद्धति र विषयप्रतिको बुझाइ नै फरक भएको उनको अनुभव छ । 

विषयगत किताब, चक र व्ल्याक बोर्डबाट सुरु भएको उनको शिक्षण विधि अहिले ल्याबमा परिणत भएको छ । 'हाम्रो पालामा विज्ञानलाई करको विषयको रुपमा लिइन्थ्यो । तर अहिले रुचीको विषयमा परेको छ,' उनले पालिकाखबरसँग अनुभव साट्दै भने, 'मैले पढाउँदा पनि विद्यार्थीहरू जवरजस्ती मात्रै पढ्न खोज्थे तर अहिले त्यस्तो छैन ।'

आफ्नो विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थापन भएकाले शिक्षण पद्धति नै फेरिएको उनको अनुभव छ । प्रयोगशालामा विद्यार्थीहरूलाई पाठ्यपुस्तक अनुसारको प्रयोगात्मक अभ्यास गराउँदै आएको उनले सुनाए । 'प्रत्येक हप्ताको एक वा दुई दिन ल्याब लगेर प्रयोगात्मक अभ्यास गराउन लगाउँछौँ,' उनले भने, 'प्रयोगात्मक अभ्यास गरेपछि विद्यार्थीमा बिर्सने सम्भावना कम भएको छ ।'

ल्याब नहुँदा अधिकांशले विज्ञानलाई सैद्धान्तिक विषयको रुपमा मात्रै लिने गरेका थिए तर अहिले प्रयोगशालाले गर्दा व्यवहारिक र प्रयोगात्मक भएको छ । 'विज्ञान प्राविधिक विषय हो । तर ल्याब नहुँदा सामान्य वा सैद्धान्तिक विषयको रुपमा मात्रै लिने गरेको थियो,' उनले भने, 'तर ल्याबमा लैजान थालेपछि हेर्ने बुझाइ नै फरक भएको छ ।'

विद्यालयमा ल्याब नभएको अवस्थामा पास हुनकै लागि घोकेर वा रटेर  नै पढन् बाध्यता थियो । तर आजभोलि समस्याको अन्त्य भएको उनले सुनाए । हाल विज्ञान विषयमा पनि सैद्धान्तिकका साथै व्यावहारिक र जीवनउपयाेगी शिक्षा दिन थालेकाे उनले सुनाए । सैद्धान्तिक तथा किताबकाे चित्रबाट नबुझ्ने पाठ पनि बुझाउन सहज भएकाे उनकाे अनुभव छ ।

शिक्षकले आवश्यकता अनुसार हप्तामा एक दिनदेखि ३/४ दिनसम्म ल्याबमा लैजाने गरेकाे उनले बताए । उनका अनुसार विद्यालयमा २०७३ सालदेखि ल्याब सञ्चालनमा ल्याएको हो । ल्याबको लागि आवश्यक खर्च नगरपालिकाले व्यवस्थापन गर्दै आएको उनले बताए । सो रकम अपुग भएमा विद्यालय स्वयम्ले व्यवस्थापन गर्ने उनको भनाइ छ । 

नगरपालिकाकै लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयमा पनि विज्ञान ल्याब सञ्चालन ल्याएसँगै पढाइको गुणस्तर सुधार भएको छ । विद्यालयका प्रधानाध्यापक सञ्जिव झाले विज्ञान ल्याबमा विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास गर्न पाएका पालिकाखबरलाई बताए । 

कक्षा ९ भन्दा माथिका विद्यार्थीहरूलाई कार्य तालिका बनाएर प्रयोगशालाको प्रयोग गर्न दिइने उनले सुनाए । कक्षागत अभ्यासको आधारमा उनीहरुलाई पालैपालो ल्यावमा परीक्षण गर्न दिइने उनले जानकारी दिए । कक्षा ९ देखि १० र ११ देखि १२ सम्मका विषयगत शिक्षकहरूले आलाेपालाे गरेर ल्याबमा लैजाने उनले सुनाए ।

आफू पनि विज्ञान विषयको शिक्षक भएकाले ल्याबबाट विद्यार्थीको पढाइमा धेरै फाइदा पुगेको उनले बताए । सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक अभ्यास समेत गराउन सकेको उनको भनाइ छ । 

ल्याबको लागि आवश्यक सामग्रीको खरिद नगरपालिकाको सहयोगमा गर्दै आएको उनले बताए । रकम अपुग भएमा विद्यालयले व्यवस्थापन गर्ने उनले सुनाए । साथै ल्याबलाई थप परिमार्जित गर्नको लागि आवश्यक योजना बनाउँदै आएको उनको भनाइ छ । ल्याब सञ्चालनमा आएपछि नतिजामा समेत तुलनात्मक रुपमा सुधार भएको उनले जानकारी दिए । 

जलेश्वर नगरपालिकामा हाल २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये ९ वटा माध्यमिक तहको विद्यालय रहेको नगरपालिकाको शिक्षा शाखा अधिकृत जयकुमार साहले बताए । उनका अनुसार सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिएको छ । 

संघीय सरकारको सहयोगमा पालिकाभित्रका विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएको नगरप्रमुख सुरेश साह साेनारले बताए । पालिका सहरी क्षेत्रमा भएकाले पालिकाभित्रका सबै विद्यालयमा विज्ञान प्रयोगशाला राखिएको उनले बताए । प्रयोगशालाको लागि आवश्यक खर्चको व्यवस्थापन नगरपालिकाले गर्दै आएको उनले पालिकाखबरलाई जानकारी दिए । 

नगरप्रमुख साहका अनुसार पालिकाले चालु आर्थिक वर्षमा एक विद्यालय एक विज्ञान ल्याब व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । साे कार्यक्रमकाे अनुसार विज्ञान ल्याबकाे लागि आवश्यक व्यवस्थापन नगरपालिकाले गर्दै आएकाे छ ।