close

विद्यार्थीहरूको अनिवार्य बैंक खाता : गाउँपालिकाले दैनिक १ रुपैयाँ बचत गरिदिँदै

विद्यार्थीहरूको अनिवार्य बैंक खाता : गाउँपालिकाले दैनिक १ रुपैयाँ बचत गरिदिँदै

Trulli
ADVERTISEMENT

इलाम– माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु ठूलो कुरा रहेको भन्दै रोङ गाउँपालिकाले प्रत्येक विद्यार्थीको बैंक खाता खोलेको छ । गाउँपालिकाले गत महिनादेखि विद्यार्थीहरूको बैंकमा खाता खोलेर दैनिक १ रुपैयाँ बचत सुरु गरेको हो ।

विद्यालय उमेरदेखि नै बचत गर्दा बालबालिकामा बचतको सँस्कारसहित वित्तीय साक्षरताको समेत विकास हुने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो बताउँछन् । उनका अनुसार अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत गाउँपालिकाले ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि –२०८०’ तयार गरी विद्यार्थीले अनिवार्य रुपमा बैंकमा खाता खोल्नुपर्ने नियम ल्याइएको हो । 

बचत रकम जम्मा गर्न नगरपालिकाले लागि प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेको छ । सो बैंकमा पालिकाका नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुको खाता खोलिएको छ । विद्यार्थीको सम्पूर्ण विवरण संकलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको हो । 

बैंक खातामा गाउँपालिकाले विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको दिनको आधारमा दैनिक एक रुपैयाँका दरले नियमित बचत गरिदिने गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए । उनको अनुसार गाउँपालिकाले मात्र नभइ विद्यार्थीहरूले समेत नियमित बचत गर्नुपर्ने छ । विद्यार्थीले दैनिक कम्तिमा एक रुपैयाँ वा एक रुपैयाँभन्दा धेरै चाहेअनुसार बचत गर्न पाउनेछन् । 

उनले पालिकाखबरसँग भने, ‘बालबालिका पढ्ने विद्यालयमा नै बचत संकलन हुने व्यवस्था मिलाइएको छ । बचत गरेको प्रमाणका लागि पासबुकको व्यवस्था छ । बचतबारे वर्षको दुई पटक अभिभावकको मोबाइलमा बैंकबाट एसएमएस जान्छ ।’

विद्यार्थी आफैँले पनि दैनिक १ रुपैयाँ वा एक महिनाको लागि एकमुष्ट बचत गर्नुपर्ने उनले बताए । उता गाउँपालिकाले विद्यार्थीको उपस्थितिका अनुसार प्रतिदिन एक रुपैयाँका दरले प्रत्येक ३ महिनामा एकमुष्ट रकम विद्यार्थीको बैंक खातामा जम्मा गर्ने उनले जानकारी दिए । 

छात्रावृत्ति शीर्षकमा वार्षिक रुपमा पालिकाको ठूलो बजेट खर्च हुने तर विद्यार्थीहरूले आवश्यकताअनुसार पर्याप्त सहयोग नपाउने भएकाले गाउँपालिकाले बैंक खाता खोलेर विद्यार्थीहरूको बचत सुरु गरेको अध्यक्ष स्याङ्बोको भनाइ छ । छात्रावृत्ति वितरण दिगो समाधान नभएकाले सोको विकल्पमा रु १ बचतको अवधारणा अघि सारेको उनले बताए  । 

विद्यालयमा गरिएको बचत रकम विद्यार्थीहरूको उच्च शिक्षाको लागि मात्र निकाल्न मिल्ने अध्यक्ष स्याङ्बोले पालिकाखबरलाई जानकारी दिए । आर्थिक अभावका कारण शिक्षाबाट बालबालिका बञ्चित नहुन् भनेर सो कार्यक्रम सुरु गरेको उनले बताए । छोराछोरीको शिक्षाका लागि अभिभावकमा समेत आर्थिक भार कम पर्ने भएकाले विद्यार्थीहरुको अनिवार्य बचत गर्ने नियम गाउँपालिकाले ल्याएको हो । 

सो कार्यक्रमको लागि सम्झौता गरिएको प्राइम कमर्सियल बैंकले पनि आर्थिक सहयोग गरेको उनले सुनाए । उनको अनुसार बैंकले २ लाख ५० हजार रुपैयाँ बढीको सहयोग उपलब्ध गराएको हो । बैंकले पनि प्रत्येक विद्यार्थीको खाता खोल्दा खातामा १०० रुपैयाँ दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता गरेको उनले जानकारी दिए । 

मंसिरबाट बचत सुरु गरिएको र पहिलो महिनामा तोकिएको न्युनतम रकमभन्दा विद्यार्थीले धेरै रकम बचत गरेका छन् । ‘कम्तीमा एक रुपैयाँ भनेपनि प्रतिविद्यार्थी ५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बचत गरेको पाइएको छ,’ उनले भने । 

मंसिरमा विद्यार्थीहरुले बचत सुरु गरिसकेको र बैंकमा खाता खोल्नको लागि विद्यार्थीहरुको फारम भरेर फारमकाे तथ्यांक गाउँपालिकाले मिलाइरहेको अध्यक्ष स्याङ्बोले बताए । सो तथ्यांक पालिकाले बैंकमा पठाएपछि बैंकले विद्यार्थीको डेमो एकाउन्ट खोलेर आफ्नो तर्फबाट १०० रुपैयाँ उपलब्ध गराउने छ । 

विद्यार्थीहरुको बचत कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकामा निर्देशक समिति र प्रत्येक विद्यालयमा कार्यान्वयन समिति गठन गरिएको छ । बचत कार्यलाई पारदर्शी बनाउन सफ्टवेयर समेत बनाइएको उनले बताए । 

कार्यान्वयन समितिले विद्यार्थीको बचत सङ्कलन गरेर गाउँपालिकाको सफ्टवेयरमा राख्ने र निर्देशन समितिले जानकारी लिएर बैंकमा पठाउने उनले बताए । बैंकले पनि प्रत्येक तीन महिनामा विद्यार्थीको बचत र ब्याजसहितको हिसाब गरेर गाउँपालिकालाई जानकारी गराउने र सो जानकारी विद्यालयसम्म पुग्ने उनले बताए ।  

रोङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बचत सुरु गरिएको उनले बताए । पालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब २५०० विद्यार्थीहरूले बचत थालेको उनले बताए । 

उनका अनुसार बचत गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीको तथ्यांक संकलनको काम गाउँपालिकाले गरिरहेको छ । ‘बचत गर्न नसक्ने विद्यार्थीहरूको डाटा संकलन गरेर दाताको सहयोगबाट बचत गर्ने व्यवस्था मिलाउँछौँ,’ उनले भने ।