close

सुर्यविनायकको छलफल, विद्यालय नमुना कि अलमल?

सुर्यविनायकको छलफल, विद्यालय नमुना कि अलमल?

Trulli
ADVERTISEMENT

भक्तपुर- सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रका विद्यालयलाई नमुनाको रुपमा विकास गर्न विषयगत समितिमा छलफल तीव्र बनाएको छ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख त्नबहादुर कटुवालका अनुसार चालु आर्थिक वर्षमा २ वटालाई नमुना विद्यालयको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पास भएको थियो । 

सोही नीतिअनुसार अहिले सुझाव लिने, प्रधानाध्यपकमार्फत आवश्यकता संकलन गर्ने र विषयगत समितिमा छलफल गर्ने काम भइरहेको छ । हाल नगरपालिकाले कार्यविधिको ड्राफ्टमाथि छलफल जारी छ । सबैको सुझाव र छलफलपछि दुई वटालाई नमुनाको रुपमा विकास गर्ने कि नगरपालिकाका सबै विद्यालयलाई नै नमुना बनाउने भन्ने विषयमा कार्यविधिमा स्पष्ट खुलाइने नगर शिक्षा समितिले जनाएको छ । कार्यविधि निर्माण सकिएलगत्तै कार्यान्वयनको काम सुरु गर्ने नगरपालिकाको योजना छ । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ बाट दुई विद्यालयलाई नुमना बनाउनका लागि एक करोड विनियोजन गरेको थियो । तर पछिल्लो समय सबै विद्यालयलाई नमुना बनाउनुपर्ने माग उठिरहेको हुँदा सामाजिक समिति र नगर शिक्षा समितिमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षाका लागि २ अर्ब १० करोड ५० लाख बजेट विनियोजन गरेकोमा एक करोडले विद्यालयलाई नमुनाको रुपमा विकास गर्ने शीर्षकमा विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेश ल्याउँदा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले कम्तीमा २ वटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न प्रस्ताव गरेकी थिइन् । 

नगरपालिकामा २ इसिडी, १८ आधारभूत र १० माध्यमिक तह गरी ३० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।