close

शैक्षिक गुणस्तर बढाउन आवासीय विद्यालय

शैक्षिक गुणस्तर बढाउन आवासीय विद्यालय

Trulli
ADVERTISEMENT

पर्वत– सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले महाशिला गाउँपालिकाले पालिकाभित्रका आवासीय विद्यालय बनाउने काम तीब्र बनाएको छ । गाउँपालिका, शिक्षक र अभिभावकको साझेदारीमा विद्यालयलाई 'आवासीय विद्यालय' बनाएको हो । 

गत आर्थिक वर्षबाट सुरु गरिएको कार्यक्रममार्फत तीन वटा विद्यालयलाई आवासीय विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले बताए । 

उनका अनुसार वडा नं ५ को महेन्द्र ज्योती माध्यमिक विद्यालय, वडा नं ४ को धर्म माध्यमिक विद्यालय, वडा नं २ को गोल्याम धाम आधारभुत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ । यस वर्ष फलामखानीस्थित मदन आश्रित आधारभूत विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गर्ने योजना रहेको उनले बताए । 

बिहानको खाजा, खाना, दिवा खाजा लगायतको सुविधा आवासीय विद्यालयमा रहेको उनले पालिकाखबरसँग बताए । महेन्द्र ज्योती र धर्म विद्यालय १२ घण्टाको आवासीय तथा गोल्याम धाम आधारभुत विद्यालय २४ घण्टा आवासीय सुविधा रहेको उनले जानकारी दिए । 

उनले भने, ‘१२ घण्टाको आवासीय विद्यालयमा बिहानको खाना खान विद्यार्थी विद्यालय जान्छन् र बेलुकाको खाना खान घर फर्किन्छन् ।’ २४ घण्टा आवासीय विद्यालयमा प्रत्येक आइतबार विद्यार्थीहरु विद्यालय जाने र शुक्रबार घर फर्कने गरेको उनले सुनाए । 

आवासीय विद्यालय सञ्चालनका लागि शिक्षक, अभिभावक र गाउँपालिकाको त्रिपक्षीय योगदान रहेको गाउँपालिका अध्यक्ष भुसालले बताए । उनले भने, ‘नियमित विद्यालय समय बाहेकका समयमा शिक्षकहरुले ३५ प्रतिशत सुविधामा पढाउनुहुन्छ ।’ अभिभावकले खाना र खाजाका लागि खाद्यान्न उपलब्ध गराउने गरेको उनले बताए । शिक्षकहरुले अतिरिक्त सेवा सुविधा, वार्डेन, खाना बनाउने कर्मचारीको तलब लगायतका आर्थिक पाटोको व्यवस्थापन गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । 

चालु आर्थिक वर्षमा पालिकाभित्रका आवासीय विद्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । उनले भने, ‘पाँच वर्षभित्र पालिकाका ६ वटै वडाका विद्यालयलाई आवासीय बनाउने हाम्रो योजना हो ।’

गाउँपालिकाभित्र २६ वटा सामुदायिक विद्यालय सञ्चालित छन् । सो मध्ये ८ वटा माध्यमिक विद्यालय, कक्षा ८ सम्म अध्यापन हुने ४ वटा र बाँकी १४ वटा विद्यालयमा प्राथमिक तहसम्म अध्यापन हुने गरेकाे छ ।