close

बजेट अपुग हुँदा शैक्षिक कार्यक्रम कटौती

बजेट अपुग हुँदा शैक्षिक कार्यक्रम कटौती

Trulli
ADVERTISEMENT

उदयपुर - रौतामाई गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयभन्दा बाहिर रहेका तथा ड्रप आउट विद्यार्थीलाई पुन विद्यालय लैजानका लागि प्रोत्साहन नीति लिए पनि कार्यान्वयनमा आउन सकेको छैन । गाउँपालिकासँग सो कार्यक्रमको लागि आवश्यक बजेट अपुग भएकाले सञ्चालनमा आउन नसकेको हो ।

विद्यालयका शिक्षा शाखाका प्रमुख गोबिन्द कार्कीले पालिकासँग आवश्यक रकम नभएकाले शिक्षा क्षेत्रका केही कार्यक्रम सञ्चालन आउन नसकेको बताए । बजेट भएसँगै सो कार्यक्रमलाई सञ्चालनमा ल्याउने योजनामा रहेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले शैक्षिक सुधारको लागि लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकको होल्डेन ह्याण्डसचेक कार्यक्रम नीति तथा कार्यक्रममा राखेको उनको भनाइ छ । तर केन्द्रीय तथा प्रदेश सरकारले सीमित मात्रै बजेट विनियोजन गरेको उनले सुनाए । 

संघ तथा प्रदेश सरकारबाट सीमित मात्रै बजेट विनियोजन भए पछि सो नीति गाउँपालिकाको आन्तरिक स्रोतमा सञ्चालन गर्ने गरी राखिएको उनले बताए । गाउँपालिकाको आन्तरिक स्रोतबाट राजस्व संकलन भएमा मात्रै कार्यक्रम सञ्चालनमा आउने उनले सुनाए । 

बजेट अभावले गाउँपालिकाले शिक्षाका नियमित कार्यक्रम मात्रै सञ्चालन हुँदै आएको उनको भनाइ छ । यसैगरी शिक्षकको कार्यसम्पादनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

गाउँपालिकाले शैक्षिक सुधारको लागि गाउ शिक्षकको व्यवस्थापन गरेको उनले सुनाए । साथै बाल विकास केन्द्रका शिक्षक तथा अन्य कर्मचारीलाई मासिक १५ हजार रुपैयाँको दरले पारिश्रमिक वितरण गर्दै आएको उनले बताए । शिक्षकको लागि मात्रै वार्षिक एक करोडभन्दा बढी बजेट विनियोजन गरेको उनले सुनाए । 

तर सो रकम महालेखा परीक्षकले बेरुजुमा राखेकोले जस्टीमाफई गर्न निर्देशन दिएको बताए । बेरुजुको समस्याले गाउँ शिक्षकको पारिश्रमिक पनि आन्तरिक राजस्वबाट व्यहोर्नु पर्ने अवस्था आउने उनले बताए । सो भएमा सो शिक्षक पनि कटौती हुने उनले सुनाए । 

गाउँपालिकाले शैक्षिक अवस्थाको सुधार गर्नको लागि दश वर्षे नीति लिन लागेको उनले बताए । सोका लागि सबै काम फाइनल भइसकेको अब केही दिनमा प्रकाशन हुने उनले बताए । उनका अनुसार गाउँपालिकामा हाल ६० वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।