close

शैक्षिक महोत्सवमा ८४ मिनेट लामो नृत्य

शैक्षिक महोत्सवमा ८४ मिनेट लामो नृत्य

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाले पहिलो पटक बृहत शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । 

नगरको शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत सात हजार विद्यार्थी र आठ हजार अभिभावक गरी १५ हजार सहभागी गराउने लक्ष्यसहित शैक्षिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पालिकाखबरलाई बताए । 

फागुन १२ गते शनिबार बागमती नगरपालिका-११, कमैंयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना हुने एक दिने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गर्ने बागमती नगरपालिकाले जनाएको छ ।

पूर्वाधार विकाससँगै चेतनाको समेत विकास गर्नुपर्छ भन्ने निष्कर्षसहित पहिलो पटक शैक्षिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक गुणस्तर तथा वृद्धि गर्ने अभियानकै क्रममा ठूलो संख्यामा विद्यार्थी र अभिभावकलाई सहभागी गराई शैक्षिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । उनका अनुसार पर्यटन,स्थानीय रीतिरिवाज र संस्कृतिसँग समेत जोडेर शैक्षिक सम्मेलन गर्न लागिएको हो ।

विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरूको सर्वाङ्गीण विकास लागि समाजको मौलिकता, संस्कार, सँस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८४ मिनेट लामो नृत्य प्रस्तुत गर्ने कार्य तालिका छन् । सो नृत्यको नाम शैक्षिक तथा संस्कृतिक प्याकेज दिइएको छ ।

 समुदायलाई विद्यालयसँग जोड्ने प्रयत्नस्वरूप हजारौँ अभिभावकको आ-आफ्नो सांस्कृतिक भेषभूषामा झाँकी, हरेक विद्यालय, टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै “हामी सुधार गर्छौं, हाम्रो विद्यालय” जस्ता नारासहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

नगरभित्रका २५ वटै सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारमा लागेको बागमती नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएको छ ।