close

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

Trulli
ADVERTISEMENT

बागलुङ–  वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि बागलुङका दुई पालिकाले लगत सङ्कलन थालेका छन् । 

 

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण सङ्कलन गर्न आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन । 

 

सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ । 

 

प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले ४ लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क सङ्कलन गरिने छ । 

 

नगरपालिकाले १४ र गाउँपालिकाले आठ गणक छनोट गरी तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्याङ्क लिनेछन् । विवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क सङ्कलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण सङ्कलन गर्नेछन् । 

 

 प्रोफाइलमा जनसङ्ख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताए ।

 

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीयस्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्ययाले बताए । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौती, अगाडि र सुझावलाई पनि समावेश हुनेछ ।