close

सालका पातको दुना–टपरी बुनेर उद्यमी बन्दै अत्तरियाका एकल महिला

सालका पातको दुना–टपरी बुनेर उद्यमी बन्दै अत्तरियाका एकल महिला

Trulli
ADVERTISEMENT

कैलाली–मजदुरीको काम गर्दै आएकी कमला धामीले सालका पातबाट टपरी बुन्न थालेको १ साता पुग्यो । दार्चुला मालिकार्जुन घर भएकी कमला १ वर्षदेखि अत्तरियामा कोठा भाडामा लिएर बस्दै आएकी छन् ।

 

२ वर्षअघि श्रीमान् गुमाएकी उनले मजदुरी गरेरै दैनिक गुजारा चलाउँदै आएकी छन् । गोदावरीका एकल महिलालाई उद्यमी बनाउन दुनाटपरी बनाउने तालिम दिइरहेको जानकारी पाएपछि उनी एक सातादेखि सालका पातबाट दुनाटपरी बनाउन सिक्दैछन् ।

 

‘श्रीमान्को दार्चुलामै गाडी दुर्घटना हुँदा मृत्यु भयो । त्यसपछि २ छोराछोरी पाल्न समस्या भयो । यहाँ मजदुरीको काम पाइन्छ भनेर १० र ८ वर्षका छोरा ल्याएर यतै बस्दै आएकी छु,’ उनले भनिन्, ‘यता मजुदरीको काम पाइन्छ । दिनभरि काम गरेर ५ सय रुपैयाँ हुन्छ । त्यही पैसाले घरखर्च चलाएकी छु,’ उनले भनिन् ।

 

मजदुरीको भन्दा दुनाटपरीको काम गर्न सजिलो हुने सोचेर तालिम लिइरहेको उनले सुनाइन् । ‘तालिम राम्रो लागेको छ । तालिम सिकेर रोजगारी पाउँला भन्ने सोचेकी छु,’ उनले भनिन्, ‘तालिम सकेपछि आफैं उद्योग खोल्छु, नसके पात ल्याएर यही काम गर्छु ।’ 

 

उनले एकल महिला भत्ताले मात्रै जीवन निर्वाह गर्न नसकिने भएकाले सरकारले रोजगार वा उद्यमी बन्न सहयोग गर्नुपर्ने बताइन् ।

 

गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी कमला कामी घरको सहारा कोही नभएपछि दुनाटपरी बनाएरै भए पनि घरखर्च चलाउने सोच बनाएको बताउँछिन् । तालिम लिएपछि दुनाटपरी बेचेर आयआर्जन गर्ने सोच बनाएको उनले सुनाइन् ।

 

श्रीमान्सँगै मुम्बईमा बस्दै आएकी गोमाका श्रीमान्को ९ महिनाअघि हर्ट अट्याकले मृत्यु भएपछि उनी नेपाल फर्किएकी
थिइन् । सासू, ७ वर्षीया छोरी र ५ वर्षीय छोरासँगै बस्दै आएकी उनले पनि घर खर्च चलाउन मजदुरी गर्दै आएकी छन् । ‘मुम्बईमा दुवै जना काम गथ्र्यौं । अचानक श्रीमान्को मृत्यु भएपछि छोराछोरी लिएर घर आएँ,’ उनले भनिन्, ‘यता केही काम नपाइएपछि मजदुरी गरिरहेकी छु । त्यो काम सधँै पाइन्न । त्यसैले दुनाटपरी बनाएर केही आयआर्जन हुन्छ कि भनेर यहाँ आएकी हुँ ।’कमला र गोमाजस्तै अहिले गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला, गोदावरी एकल महिला समूहले १५ दिने दुनाटपरी तालिम सञ्चालन गरेपछि ४८ एकल महिलाले दुनाटपरी बनाउन सिकिरहेका छन् ।

 

गोदावरी एकल महिला समूहकी अध्यक्ष माया विष्टले ३ वर्षदेखि नगरपालिकाका एकल महिला संगठित भएर विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । अन्य तालिमभन्दा दुनाटपरी तालिम एकल महिलाका लागि बढी प्रभावकारी हुने उनको बुझाइ छ ।

 

‘हामीले दुनाटपरी बनाउने मेसिन पनि ल्याएका छौँ । यो तालिम लिएपछि महिला दिदीबहिनीले सामूहिक रूपमा जंगलबाट पात ल्याएर बिक्री गर्न सक्छन् । यही आएर आफैं दुनाटपरी पनि बनाउन सक्छन्,’ उनले भनिन्, ‘दुनाटपरी बनाउने उद्योगमा गएर पनि महिलाले रोजगार गर्न सक्छन् ।’

 

तालिम दिएपछि समूहबाटै थप मेसिन खरिद गरेर भए पनि महिलालाई रोजगार दिइने उनले बताइन् । ‘कसैले आफैं पनि उद्योग खोल्न सक्छन्,’ उनले भनिन्, ‘मजदुरी गर्नुभन्दा आफंै सीप सिकेर उद्यमी बन्नु फाइदाजनक छ ।’ स्थानीय सरकार आएपछि एकल महिलाका लागि सहज भएको उनको अनुभव छ ।

 

बजारको समस्या छैन

 

तालिम प्रशिक्षक सरिता बुढामगरले दुनाटपरीको राम्रो बजार भएको बताइन् । आफंै धनगढी उपमहानगर वडा नम्बर १४ ‘एच’ गाउँमा न्यू फूलबारी दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी बुढामगरले बजार मागअनुसार दुनाटपरी पु-याउनै हम्मे–हम्मे पर्ने गरेको उनले सुनाइन् ।

 

‘मैले पनि ५० हजार लगानीबाट सुरु गरेको दुनाटपरी उद्योगमा ६÷७ लाख रुपैयाँ लगानी पुगिसकेको छ,’ उनले भनिन्, ‘उद्योगमा पात टिप्ने, पात पट्याउने, पात गाँस्ने, मेसिन चलाउने गरी ३०÷४० जनाले काम पाएका छन् । कसैले पिसको हिसाबले कम गर्छन् भने कसैले ज्यालादारीमा ।’

 

उनले ४ देखि १२ इन्चसम्मको दुनाटपरी बनाउने गरेको बताइन् । जंगलबाट पात ल्याउनेले कट्टाको १ सयदेखि डेढ सय रुपैयाँ पाउने गरेको उनले जानकारी दिइन् । ‘यो वर्ष झनै राम्रो काम भएको छ । भदौदेखि अहिलेसम्म मात्रै साढे ४ लाख रुपैयाँको दुनाटपरी बिक्री भयो,’ उनले भनिन्, ‘दुनाटपरीको बजार बढ्दै गएको छ । विस्तारै बजारमा पाइने प्लास्टिकका प्लेट विस्थापित हुँदै गएका छन् ।’