close

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ शुभारम्भ

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ शुभारम्भ

Trulli
ADVERTISEMENT

काठमाडौँ- १० वटा महानगर गौरव योजनामध्ये काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको संकेत चिह्न सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन् । 

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । 

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।  

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘जनशक्ति माग र आपूर्तिको चक्रलाई अध्ययन गरेर आवश्यकताका आधारमा तालिमका विधा छानिएको हो । जनशक्तिको माग हुने क्षेत्रबाट सिपयुक्त जनशक्ति नभएको गुनासो आउँछ । अर्कोतिर शैक्षिक योग्यता प्राप्त गरेका विद्यार्थीहरु आफ्नो योग्यताअनुसारको रोजगार नपाएको गुनासो गर्नुहुन्छ । माग र आपूर्तिका विचमा भएको यो कमीलाई तालिमबाट घटाउने हाम्रो लक्ष्य हो ।’ 

उपप्रमुखले थपिन्, ‘महानगरपालिकाले आयोजना गरेका कार्यक्रमबाट मेरो वृत्ति विकास भयो । म रोजगार भएँ भन्ने व्यक्तिहरुको संख्या बढ्ने आशा लिएका छौँ । आय वृद्धि गराउन सिपयुक्त हुन जरुरी छ । यो जरुरी पूरा गराउने हाम्रो प्रयास हो ।’

कार्यक्रममा तालिमसँग सम्बन्धित विधाका प्रदर्शनीहरु राखिएका थिए । यसमा विद्यालयहरुमा चलिरहेको शिक्षामा सिप कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षण संस्थाहरु सहभागी थिए ।