close

रामेछाप नगरका घर-घरमा बिजुली, दंग छन् स्थानीय

रामेछाप नगरका घर-घरमा बिजुली, दंग छन् स्थानीय

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछापको रामेछाप नगरपालिका पूर्ण रूपमा विद्युतीकरण भएको छ । बिहीबार रामेछाप नगरपालिकाको वडा नं.– ४ हिमगंगामा बत्ती बलेसँगै नगरपालिका पूर्ण विद्युतीकरण भएको हो । 

 

नगरको केही भागमा सीमित रहेको विद्युत स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएपछि छोटो समयमा नै नगरका नौवटै वडा उज्यालो वडामा परिणत भएका हुन् । 

 

नगरपालिकाका अनुसार रामेछाप नगरपालिकामा पूर्ण रूपमा विद्युतीकरण भएसँगै नगरका साढे सात हजार बढी घरपरिवारले विद्युत सेवा लिएका छन् । 

 

रामेछाप नगरपालिकाको विशेष पहलमा र नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा नगरका सबै नागरिकको घरमा विद्युत पु¥याउन सफल भएको नगर प्रमुख नरबहादुर थापामगरले बताए

 

‘नगरका केही वडामा मात्र विद्युत थियो, हामी निर्वाचित भएर आएपछि उज्यालो नगर बनाउने गरी विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर विद्युत प्राधिकरणसँगको सहकार्यमा काम तीव्र रूपमा अगाडि बढायौँ’, उनले भने, ‘जसका कारण आज सबै नागरिकको घरमा विद्युत पुर्‍याउन सफल भएका छौँ ।’

 

उनका अनुसार विद्युतीकरणले वडामा विकासका थप पूर्वधार पनि तयार पारेको छ । अब खानेपानीका ठूला लिफ्ट आयोजनाहरू सञ्चालन, किसानहरूका लागि सिँचाइको व्यवस्था, साना उद्योगहरू सञ्चालन गर्नेजस्ता काम गर्न पनि विद्युतीकरणले ठूलो सहयोग पुगेको उनको भनाइ छ । 

 

‘नगरलाई पूर्ण रूपमा विद्युतीकरण गरेर नगरलाई उज्यालो बनाउने गरी नागरिक माझ गरेका बाचा पूरा गरेका छौँ । अब विद्युतलाई अधिकतम उपयोग गरेर थप विकासका कामहरू अगाडि बढाउँछौँ’, उनले भने ।

 

नगरपालिकालाई पूर्ण रूपमा विद्युतीकरण भएको घोषणा गर्न नगरको वडा नं- ४ हिमगंगा पुगेका नगर प्रमुख थापामगरले आठ विपन्न घरपरिवारलाई विद्युत मिटर उपलब्ध गराएका छन् ।

 

२८३ घरपरिवारलाई विद्युत मिटर वितरण गर्दा आठ घरपरिवारले आर्थिक अभावमा मिटर खरिद गर्न नसकेपछि नगर प्रमुख थापामगरले आफ्नै खर्चमा मिटर खरिद गरिदिएका हुन् ।