close

मुस्ताङको लोमान्थाङमा केन्द्रीय बिजुली

मुस्ताङको लोमान्थाङमा केन्द्रीय बिजुली

Trulli
ADVERTISEMENT

काठमाडौं– चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत् विस्तार गरेका हुन् । 


नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती हुन् । प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले दुई वटा वडाका १५० घरधुरीमा बिजुली बत्ती बालिएकोे जानकारी दिए । ‘लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ’, उनले भने, ‘लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच वटा वडामध्ये एक वडाबाहेक अन्य सबैमा विद्युतीकरण भइसकेको छ ।’

 

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत् सुविधा भएपछि स्थानीयमा खुसियाली छाएको छ । यसबाट घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ । 


यसअघि उज्यालोका लागि स्थानीयले सौर्य ऊर्जा र टुकी बाल्ने गरेका थिए । चालू आर्थिक वर्षभित्रै उपल्लो मुस्ताङका दुई गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्ने तयारीसहित काम भइरहेको केन्द्र प्रमुख नेपालले बताए ।

 

११ केभी क्षमताको लाइनबाट चीनको सीमावर्ती बस्तीसम्म विद्युतीकरण गरिएको निर्माण व्यवसायी दिनेश ढुंगानाले जानकारी दिए । विद्युत् प्राधिकरणसँग बेनीको न्यू ढुंगाना निर्माण सेवा कम्पनीले त्यहाँ विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको थियो । 

 

तार, खम्बा र उपकरण प्राधिकरणले खरिद गरेर ढुवानी गर्ने र जडानको काम गर्न ठेकेदार कम्पनीले गर्ने भएको छ । मुस्ताङमा निलगिरि उपभोक्ता सहकारी संस्थामार्फत विद्युत् वितरण र महसुल संकलन गरिँदै आएको छ ।


लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले आव ०७५÷७६ मा करिब ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

 

उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार सो बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाइनका १८० खम्बापुर्‍याइएको थियो । लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान खम्बा प्रदेश सरकारले दिएको थियो । 

 

म्याग्दीको दानासम्म ल्याइएको खम्बा, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माणस्थलमा पुर्‍याएका थिए । लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघि नै विद्युतीकरण भएको थियो ।