close

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

Trulli
ADVERTISEMENT

काठमाडौं–सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

 

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावर संख्या ३०२ वटा छ । सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिंलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ ०७६ बाट सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत् आपूर्ति हुनेछ । 


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायत कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए । 


‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । निर्माण सम्पन्न भई बर्खाको समय पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ’, घिसिङले भने । 

 


विभिन्न आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा प्राधिकरणकै उत्पादनबाट आपूर्ति दिन सकिनेछ । बढी भएको विद्युत् ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न सजिलो हुने उनले बताए । 
घिसिङले तिंला सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुनुका साथै चुहावट पनि घट्ने उल्लेख गरे । 

 


२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिंला सबस्टेसनमा जोडिनेछ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । 

 


सोलु करिडोर प्रसारण लाइन निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् गत वर्षको फागुनबाट अस्थायी रूपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

 


प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग ०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता ०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो ।