close

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिस्कृत) अनुसार गत आव ०७७/७८ मा ६ अर्ब १८ करोड नाफा थियो । चालू आवको पहिलो ६ महिनामै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । योसँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । 

 


आव ०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालू आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए ।


कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’

 

पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको र यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्ने उनको भनाइ छ । ‘चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,’ घिसिङले भने । 

 

प्राधिकरणले चालू आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

 


प्राधिकरणको पँुजीकृत सम्पत्ति १ खर्ब ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्व, सहायक कम्पनीमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ ।

 

विद्युत निर्यात बढ्यो, आयात घट्यो

आघिल्ला वर्षको तुलनामा चालू आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युत् आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकामा चालू आवको ६ महिनामै ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ ।


ऊर्जाका आधारमा गत आवमा ४ करोड ४० लाख युनिट निर्यात भएकामा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ । आव ०७६÷७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकामा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालू आवको ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ ।


माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । 

 

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्‍यो

चालू आवको ६ महिनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको ६ महिनामा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ । 


विद्युत् प्रसारण र वितरणसहित चालू आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

 

चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे । 

 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।