गुल्मी- गुल्मीको ऐतिहासिक बम्घाकोट संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा पर्दे गएको छ । रुरु क्षेत्र गाउँपालिका- ६ को अग्लो टुप्पोमा बम्घाकोट पर्छ । कोटकै वरिपरि र बाहिरको सौन्दर्य निकै मनमोहक छ ।
भुरे टाकुरे राज्य पहिलेका अवशेष गाउँमा छन् । तर, बम्घाकोटको अहिलेसम्म वास्तविक पुरातात्त्विक अध्ययन, अनुसन्धान भएको छैन । स्थानीय वीरबहादुर परियार अहिले ५६ वर्षका भए । १८ वर्षको उमेरदेखि बम्घाकोटका मेला, महोत्सवमा बाजा बजाउँछन् । उनले जान्नेदेखि नै कोटको अवस्था त्यस्तै छ ।
‘म बुढो भएँ तर कोटको अवस्था फेरिएन । कोट तीन-तीनवटा टावरले घेरिएको छ’, उनले भने, ‘संरक्षण र प्रचार प्रसार छैन, विकास हुने कुरै भएन ।’
स्थानीयले कोट र रानीले काटेको ढुंगालगायतका संरचनाको पहिचान र संरक्षणमा स्थानीय सरकार चुकेको गुनासो गर्छन् । कोटमा प्राचीन समयका बन्दुकको नाल, खुँडा, तरबार छन् ।
त्यो बेलाको दरबार छाउन प्रयोग गरिएका झिँगटीका टुक्राहरू छन् । यी सामग्रीहरूका कारण कोटको सम्बन्ध ऐतिहासिक भए पनि सोहीअनुसारको अध्ययन, अनुसन्धान र विकासमा पहल भएको छैन ।
अहलेसम्म बम्घाकोट, दरबार र त्यससँग जोडिएका संरचनाहरूको संरक्षण भएको थिएन । अहिले पनि रानीले काटेको ढुंगाको पश्चिमतिरको भाग फुटेको छ । त्यो संरक्षण नहुनुको प्रमुुख कारण हो । त्यस्तै मन्दिर निर्माणको काम पनि अधुरो नै रहेको छ ।
गत वर्ष कोट संरक्षणका लागि लुम्बिनी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजना भएको थियो । मन्दिर निर्माण र रानीले काटेको ढुंगा वरिपरि बार तथा पैदल मार्ग निर्माणका लागि बजेट विनियोजन भए पनि सोचेअनुसार काम गर्न नसकिएको वडा अध्यक्ष गिरीप्रसाद सिंजालीले जानकारी दिए ।
बम्घाकोटमा विशेष गरेर बर्खे र चैते गरेर दुईवटा दशैँमा ठूलो मेला लाग्ने गर्छ । कोटको मुख्य मन्दिर भँगेर देवताको हो । भैरव मन्दिर र शिलादेवी गरी कोटमा जम्मा चार मन्दिर छन् । अहिले तीनै सरकारबाट कोटको गुरुयोजना निर्माणका लागि पहल भइरहेको सिंजालीले जानकारी दिए ।
बम्घाकोटको प्रमुख आकर्षण रानीले काटेको अचम्मको ढुंगा हो । झट्ट देख्दा ढुंगा काटेकै जस्तो देखिन्छ । ढुंगाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ । त्यसैले स्थानीयहरू यस ढुंगालाई ‘रानीले काटेको’ भन्ने गर्छन् ।
बम्घाकोट पर्यटकीय विकास संरक्षण समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार लडाइँमा बम्घाकोटका राजा लामो समय हराए । पीडाले विक्षिप्त मीना रानीले लामो समय तपस्या गरिन् ।
तपस्याबाट उठेपछि तरबारले ढुंगामा प्रहार गर्ने, ढुंगा काटिए राजाको मृत्यु र नकाटिए जीवित भएकाले खोज्ने उनको योजना थियो । तरबारले ढुंगा काटिएपछि राजा मारिए भनेर दरबार छाडेको किंवदन्ती गाउँमा रहेको पौडेलले बताए ।
दरबार छाडेपछि रानी वास बसेको स्थानलाई अहिले रानीवास भन्ने गरिएको छ । उनले संसारका १७ वटा अनौठा चट्टानमध्ये यो ढुंगा फरक रहेको बताए ।
सोही ठाउँमा कुर्सी आकारको ढुंगा पनि छ । त्यसमा बसेर राजाले न्याय दिने र दृश्यावलोकन गर्ने गर्थे भनिन्छ । यस कोटसँग जोडिएर धेरै सन्दर्भहरू रुरु क्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा छन् ।
कोटको केही तल सुल डाँडा भनिन्छ, जहाँ राजाले अपराध गर्नेहरूलाई सुली चढाउँथे । अर्को ठाउँ चौतारा हो । सभा तथा स्थानीय भद्र भलाद्मीसँग भेटघाट र आराम गर्ने ठाउँ चौतारा थियो । भण्डार भन्ने स्थान पनि कोटकै पूर्वतिर तल्लोपट्टि छ, जहाँ भोज-भतेर गरिन्थ्यो भन्ने सुनेको स्थानीय हीराबहादुर पल्लीले बताए ।
राजाले पैसा काट्ने ठाउँलाई अहिले बलेटक्सार भन्ने गरिन्छ । रानीको नामबाट नामकरण गरिएको मीनापोखरी र रानीको हेरविचार गर्ने रखबारे कालीको नामबाट कालीवन भनिएको पल्लीको भनाइ छ ।