close

टाइमलाइन शक्तिमायाः ५० वर्षमा बिहे, ६५ मा एकल, २२ वर्ष एक्लै, ८७ मा नागरिकता

टाइमलाइन शक्तिमायाः ५० वर्षमा बिहे, ६५ मा एकल, २२ वर्ष एक्लै, ८७ मा नागरिकता

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरको मोटरेबल सडकबाट नजिकै बाहिरबाट हेर्दा मानिसको बसोवास नै नभएको जस्तो देखिने भूकम्पले क्षति पुर्‍याएको एउटा घर छ । यही घरमा ८७ वर्षीया एक महिलाले दशकौँदेखि एक्लो जीवन काट्दै आइरहेकी छन् ।


आफ्नो कुरा प्रष्ट राख्न नसक्ने, अरूले सोधेको सामान्य प्रश्नको समेत जवाफ फर्काउन नसक्ने यी महिलाले श्रीमान् बितेपछि न परिवारका सदस्य भेटिन्, न त आफ्नो परिचय खुल्ने सरकारी कागजात नै पाइन् । यसका कारण यतिका वर्षसम्म उनी एक्ली मात्र भइनन्, सरकारी सेवाबाट पनि पूर्ण रूपमा बञ्चित भइन् ।


दशकौँदेखि परिवारबाट टाढा र सरकारी कागजातबाट समेत बञ्चित यी वृद्धा वडा अध्यक्षको तीन महिनाको प्रयासले परिवारका सदस्य पनि भेटेकी छन् र शक्तिमाया लामा तामाङ पहिचान खुल्ने नेपाली नागरिकता पनि पाइन् ।

 

१९९० सालमा जन्मिएकी उनको २०४० सालमा उर्गेन लामा तामाङसँग विवाह भयो । दोस्रो श्रीमती बनेर तामाङसँग विवाह गर्दा शक्तिमाया ५० वर्षकी थिइन् । तर दुर्भाग्य, शक्तिमाया आफ्नो श्रीमानसँग १५ वर्ष मात्र बस्न पाइन् । २०५५ सालमा श्रीमानले सधैँका लागि छाडेर गएपछि एक्ली बनेकी शक्तिमाया २२ वर्षपछि परिवारका सदस्य भेट्टाउँदा जति खुसी देखिन्थिन्, त्यसभन्दा बढी खुसी ८७ वर्षपछि आफ्नो परिचय खुल्ने सरकारी कागजात पाउँदा भएकी छन् ।


एउटा रोदनले सम्झाएको नागरिकता


शक्तिमायाकी नातिनी बुहारी पर्ने पुनम घिसिङ काठमाडौंबाट आफ्नो घरायसी कामले गाउँ आउँदा उनै पुनमको छेउमा शक्तिमायाको आँखाबाट आँसुका ढिका झरे । आफ्नै अगाडि एक वृद्धाले आँसुका ढिका झार्न थालेपछि पुनमको मन पनि के मान्थ्यो, त्यतिकै मुख बाँधेर बस्न । सोध्न थालिन् पुनमले शक्तिमायालाई रुनुको कारण र विगत ।


‘आमाले आफ्नै अगाडि आएर आँसु झारेपछि किन रुनुभएको आमा ? भनेर सोधेँ’, पुनमले भनिन्, ‘अनि आमाको उत्तर आयो– मेरो नागरिकता छैन । म पनि झसङ्ग भएँ, यत्रो उमेरसम्ममा पनि किन नागरिकता छैन ? त्यसपछि जसरी पनि आमालाई नागरिकता दिलाउनुपर्छ भन्ने लाग्यो अनि सम्बन्धित निकायहरूसँग बुझ्न थालेँ ।’


पुनमले थपिन्, ‘एउटा नेपाली नागरिक भएर पनि आफ्नो पहिचान हुने कुनै पनि सरकारी कागजात नभएको थाहा पाएपछि आमालाई नागरिकता दिलाउन केके गर्नुपर्छ भनेर मैले वडा अध्यक्षबाट सुरु गरेको अभियान तीन महिनापछि बल्ल पूरा भएको छ । दशकौँदेखि आमाका आँखाबाट खस्ने गरेका आँसु आज नागरिकता पाएपछि रोकिएका छन् । मेरालागि योभन्दा खुसी के हुन्छ र ?’


नागरिकको हरेक सुखदुःखमा साथ दिने वडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको ठूलो साथ र सहयोगले आज शक्तिमायाले नागरिकता पाएको पुनमको भनाइ छ ।


यसरी पाइन् नागरिकता


आफू निर्वाचित भएर आएदेखि नै शक्तिमायाको नागरिकता नभएको जानकारी पाएका रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङलाई पनि सधैँ मनमा लागिरहन्थ्यो– यिनलाई पनि नागरिकता दिन पाए हुन्थ्यो । तर, मन भएर मात्र के गर्नु र ! नागरिकता बनाउन सनाखत गर्ने आफ्नो वंशभित्रको मान्छे पनि छैनन्, माइती पक्षको पनि पत्तो छैन ।


हजुरआमालाई नागरिकता कसरी दिलाउने भन्ने जिज्ञासा लिएर वडा कार्यालय आएकी शक्तिमायाकी नातिनी पुनम घिसिङले ‘म सहयोग गर्छु’ भनेपछि वडा अध्यक्षको पनि आँट बढ्यो । बल्ल सुरु भयो नागरिकता बनाउने प्रक्रिया ।


‘आमाको कुनै परिचय खुल्ने कागजात पनि थिएन, घर–माइती र आफन्तका बारेमा समेत उहाँले बताउन सक्नुभएन’, वडा अध्यक्ष तामाङले भने, ‘त्यसपछि उहाँकी नातिनी पुनम, वडाका अरू जनप्रतिनिधि र म आफैँ लागेर उहाँसँगै हिँड्दै सोध्न थाल्यौँ ।’


शक्तिमायाका बारेमा बुझ्न लागेको तीन महिनाका प्रत्येक दिन सम्झिँदै वडा अध्यक्ष तामाङले थपे, ‘उहाँ खुसी भएका बेला पुराना कुरा गर्दा केही संकेतहरू पाउने आस पलायो अनि हामीले उहाँलाई खुसी बनाउँदै नियमित सोध्न थाल्यौँ । एक दिन उहाँले भूकम्प जाँदा लामाबगर भन्ने ठाउँमा ठूलठूला ढुंगा लडेको बताउनुभयो । त्यसपछिचाहिँ हामीलाई पनि लाग्यो– उहाँको जन्म थलो त्यतै हुनुपर्छ । थप बुझ्नका लागि उहाँलाई नै गाडीमा राखेर म आफैँ दोलखाको विगु गाउँपालिकातिर लागेँ ।’


सोध्दै खोज्दै जाँदा बिगु गाउँपालिकाको वडा नं. २ मा पुगे । त्यहाँ उनका बारेमा बुझ्दा थाहा भयो, शक्तिमायाका भाइ रहेछन् । आफ्नो भाइ भेटेपछि शक्तिमायाको खुसीको सीमा नै रहेन ।


‘वर्षौंदेखि एक्ली रहेकी शक्तिमायाले आफ्नो भाइ भेट्दा हामीलाई पनि खुसी थपियो । त्यसपछि त्यहाँका जनप्रतिनिधिहरूलाई भनेर जन्म प्रमाणित गरायौँ अनि रामेछाप फर्केर आएर बाँकी चाहिने कागजपत्रहरू जुटाएर शक्तिमायाको अवस्थाका बारेमा सीडीओलाई जानकारी गराएपछि सीडीओसा’बले पनि उहाँको घरमै गएर नागरिकता दिने भन्नुभयो ।’


कहिले दिने भन्ने विषयमा छलफल गरेर मिति तय गरे । १ पुसका दिन शक्तिमायाले आफ्नै घरमा प्रमुख जिल्ला अधिकारीको हातबाट नागरिकता पाइन् ।


थप जिम्मेवार बन्न प्रेरित गरेको छ– प्रमुख जिल्ला अधिकारी शर्मा


शक्तिमायालाई घरमै नागरिकता दिन रामपुर पुगेकी प्रमुख जिल्ला अधिकारीलाई पनि उनी जस्ता नागरिकलाई घरमै पुगेर सेवा दिनुपर्छ भन्ने थप सेवाको भाव जागेको छ । नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘उहाँको अवस्थाले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ । अझै पनि यस्ता सेवाबाट बञ्चित नागरिकहरू जिल्लाका विभिन्न ठाउँमा रहेका हुन सक्छन्, उनीहरूको पहिचान गरेर सकेसम्म घरमै पुगेर सेवा दिनुपर्छ । त्यो अभियानको थालनी पनि आजैबाट सुरु भएको जानकारी गराउँछु ।’


जिल्लाका ६४ ओटै वडा अध्यक्षहरूसँग समन्वय गरेर यस्ता व्यक्तिहरू भए उनीहरूको अवस्था बुझेर घरमै पुगेर नागरिकता दिने शर्माले बताइन् । ‘व्यक्ति आफैँ वा सम्बन्धित सरकारी निकायहरूको कारणले गर्दा पनि सेवाबाट बञ्चित रहेका उहाँ जस्ता नागरिकलाई पहिचानविहीन बनाउनुहुँदैन । उहाँहरू जस्ता नागरिकलाई सेवा दिलाउनु हामी सबैको कर्तव्य हो’, उनले भनिन् ।


आफूसँगै बसेको भाइको फोटो देखाउँदै खुसी बन्छिन् शक्तिमाया


श्रीमान् बितेपछि २२ वर्षदेखि आफ्नो परिवारका सदस्यबाट टाढा रहेकी शक्तिमायासँग एउटा फोटो पनि छ, जुन फोटो वडा अध्यक्षले केही हप्ता अगाडि मात्र भेट्टाइदिएका उनका भाइ–बुहारीको हो । उनले यही फोटोलाई आफ्नो परिवार मानेकी छन् । यही फोटोसँग सुखदुःख साट्ने शक्तिमायालाई थप सुखदुःख साट्ने अर्को फोटो पनि थपिएको छ– आफ्नै नागरिकताको ।