close

घरमै धारा बगेपछि फोलो र ग्यालिन थन्किए

घरमै धारा बगेपछि फोलो र ग्यालिन थन्किए

Trulli
ADVERTISEMENT

डडेल्धुरा- ‘खानेपानीका लागी घन्टौँ हिँड्थेँ । पानीका लागि निकै संघर्ष गर्‍यौँ । बल्ल गाउँमा पानी पुग्यो,’ स्थानीय देवी भुलले भनिन्, ‘अब पिठ्युँमा ग्यालिन र टाउकोमा फोलो (तामाको भाँडो) राखेर पानी बोक्ने दिन गए ।’ 

 

नवदुर्गा गाउँपालिका वडा नम्बर २ की स्थानीय देवी भुलसँग खानेपानीका लागि गरेको संघर्षको लामो अनुभव छ । स्थानीय सरकारले घर-घरमै पानीको धारा बनाइदिएपछि उनीलगायत नवदुर्गा गाउँपालिका वडा नम्बर २ को सिंगो वडाबासी खुसी छन् । 


खानेपानी नभएर काकाकुल हुने नवदुर्गा गाउँपालिकाको वडा नम्बर २ का बस्तीहरूमा पानी पुगेपछि स्थानीय खुसी भएका हुन् । अग्लो भागमा बस्ती र होचो तथा खोलामा मात्र पानी हुने यहाँका अधिकांश बस्तीमा खानेपानीको समस्या थियो । 


यस वर्ष मात्रै दुइटा लिफ्ट खानेपानी योजना सम्पन्न भएर गाउँमा पानी पुगेपछि दैनिक जीवन नै फेरिएको स्थानीय धनादेवी भुलले बताइन् । ‘स्थानीय सरकारका कारण हामीले घरमै नुहाइ-धुवाइ गर्न पायौँ । गाई-गोरुलाई पनि सहज भयो,’ उनले भनिन् । 

 

कुनै बेला पानीका लागि बिहान सबेरै न्वालामा गएर बसेको कलावती सुनाउँछिन् । ‘कहिलेकाहीँ पानीका लागि राती जाग्राम बस्थ्यौँ,’ उनी भन्छिन्, ‘छोराछोरी भोकै बस्थे । अब त्यो समस्या समस्या समाधान भयो ।’ 

 

नवदुर्गा र संघीय सरकारको समपूरक बजेटबाट योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले बताए । १ करोड रुपैयाँ लागतमा सो योजना सम्पन्न भएको हो । ‘गाउँपालिकाका सबै बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ योजना निर्माण गरेका हौँ’, अध्यक्ष विष्टले भने । 

 

खानेपानी, सडक, विद्युत्लगायत विकासका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको अध्यक्ष विष्टले जानकारी दिए । अध्यक्ष विष्टले भने, ‘बस्तीहरू डाँडामा रहेका र पानीका स्रोत नहुँदा समस्या भए पनि लिफ्टका माध्यमबाट पानी ल्याइपुर्‍यायौँ ।’

 

अध्यक्ष विष्टले लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरे । अध्यक्ष विष्ट अधिकृत स्तरको सरकारी जागिर छाडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।