close

११ महिनापछि खुल्यो राइनासकोट होमस्टे

११ महिनापछि खुल्यो राइनासकोट होमस्टे

Trulli
ADVERTISEMENT

लमजुङ- कोरोना महामारीका कारण बन्द लमजुङको राइनासकोट होमस्टे ११ महिनापछि खुला गरिएको छ ।

 

लकडाउन सुरु भएसँगै गत चैतदेखि बन्द गरिएको नेपालको उत्कृष्ट तथा नमुना राइनासकोट होमस्टे ११ महिनापछि शुक्रबारबाट खुला गरिएको राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिले जानकारी दिएको हो ।

 

सामुदायिक होमस्टे व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शुक्रबारदेखि होमस्टे खुला गर्ने निर्णय गरेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर गुरुङले बताए ।

 

लकडाउनसँगै घरबास व्यवसाय संकटमा परेकाले पर्यटकका लागि होमस्टे खुला गरिएको गुरुङको भनाइ छ । उनका अनुसार राइनासकोट आउने पर्यटक र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरेर मात्र गाउँ प्रवेश गराइनेछ ।

 

होमस्टे खुला गरेको पहिलो दिन शुक्रबार ११ जना पर्यटक गाउँ आएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर पाहुनालाई स्वागत गरिएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए । समितिले शुक्रबारदेखि प्याकेजमा पाहुना राख्ने निर्णय गरेको छ ।

 
समितिले प्रतिव्यक्ति ९ सय रुपैयाँको प्याकेज बनाएको छ । ९ सय रुपैयाँमा १ बेलुकीको खाना, बास र बिहानको खाजा उपलब्ध गराइने उपाध्यक्ष गुरुङले जानकारी दिए । होमस्टे सञ्चालन भएका घरमा साबुन, पानी र स्यानिटाइजर व्यवस्था गरिएको छ । 

 

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल राइनासकोटमा चैतयता पर्यटक आगमन बन्द थियो । होमस्टे खुलाए पनि विगतमा जस्तो सामूहिक स्वागत नगरी घरघरमै पाहुनाको स्वागत गर्ने निर्णय गरिएको छ ।

 

लकडाउनअघि राइनासकोटमा दैनिक सयौँका संख्यामा पर्यटक आउने गरेका थिए । लकडाउन खुलेसँगै अन्य पर्यटकीय गाउँ खुला भए पनि राइनासकोट भने शुक्रबारदेखि मात्रै खुलेको हो ।

 
राइनासकोटबाट लमजुङ हिमालसहित मनासलु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिलगायत हिमाल अवलोकन गर्न सकिन्छ । १ हजार ८ सय मिटर उचाइमा रहेको राइनासकोटबाट सूर्योदयको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।


यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ वटा जिल्ला देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताए । राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउदीबाट १३ किलोमिटर हुँदै दूधपोखरी मार्ग र त्यहाँबाट झन्डै २० मिनेटको सिँढी (उकालो) उक्लनुपर्छ । 

 

०७२ को विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको राइनासकोटमा अमेरिकी नागरिक नातासाको विशेष सहयोगमा पुनर्निर्माणसँगै होमस्टे सुरु गरिएको थियो ।