close

कहिले पूरा होला १३ वर्षीय रविनको पढ्ने सपना ?

कहिले पूरा होला १३ वर्षीय रविनको पढ्ने सपना ?

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ थाक्लेका १३ वर्षीय रविन सार्कीकी आमा निरुले उनी ७ वर्षका हुँदै खरबारीको डढेलोमा परेर ज्यान गुमाइन् । ९ मंसिर २०७६ देखि बेपत्ता भएका बुबा लीलबहादुरको शव ११ महिनापछि फेला पर्‍यो । 


अभिभावक नभएपछि गत वर्षबाटै रविनले स्कुल छाड्नुपर्‍यो । ११ वर्षीया बहिनी संगीता र १० वर्षका भाइ सविनको अभिभावक बने, रविन । उनीहरूलाई रविनले अरूकै घरमा काम गरेरै स्कुल पठाएका छन् । 

 

अहिले संगीता सामुदायिक विद्यालयमा ५ कक्षा र भाइ सविन २ कक्षामा पढ्छन् । अभिभावकविहीन उनीहरूलाई गाउँले र आफन्तले कहिलेकाहीँ खाद्यान्न दिन्छन् । विद्यालयका शिक्षक-शिक्षिकाले गर्ने चामल सहयोगले पेट पालेका छन् । रविन सक्ने काम पाउँदा मजदुरी गरेर आउने २-४ सय रुपैयाँले भाइबहिनी र आफ्नो पेट भर्छन् । 


भूकम्पले भत्किएको घर बेपत्ता नहुँदै उनको बुबाले सानो घर बनाएका थिए । अहिले उनीहरू त्यही घरमा बस्छन् । नाताले हजुरबुबा पर्ने छिमेकी टेकबहादुर सार्की अभिभावकविहीन भएका नानीहरूलाई सरकारले पठनपाठनको व्यवस्था गरिदिए उद्धार हुने बताउँछन् । रविन पनि कसैले सहयोग गरे आफू र भाइबहिनीसहित विद्यालय पढ्न चाहेको सुनाउँछन् । 

 

तर, संरक्षणविहीन बालबालिकाको हितमा काम गर्न स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट व्यवस्था गरेको छैन । स्थानीय सरकारले चासो नदिएकै कारण रविनजस्ता अभिावक गुमाएका बालबालिका, असहाय, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिको अधिकार हनन भएको महिला अधिकारकर्मी पेमडोमा शेर्पाले बताइन् ।

 

सरोकारवालासँग यसबारे ध्यानाकर्षण गराउने काम भएको उनको भनाइ छ । संरक्षणविहीन बालबालिकाका लागि स्थानीय सरकारले पालिका स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन गर्नुपर्ने प्रावधान छ ।

 

उपप्रमुख संयोजक रहने उक्त समिति गठन तथा त्यस्ता व्यक्तिको हितमा कार्य गर्न महिला तथा बालबालिका मन्त्रालयले २९ फागुन २०७६ र ७ वैशाख २०७७ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई परिपत्र गरेका थिए । 


परिपत्रसहित कार्यविधिसमेत पठाइए पनि स्थानीय तहले यसबारे चासो लिएका छैनन् । सरकारी संयन्त्रले चासो नलिँदा संरक्षणविहीन नागरिकको हितमा प्रभावकारी काम हुन नसकेको अधिकारकर्मीको गुनासो छ ।