close

मुगुका १ सय ८ जना बालबालिकामा कुपोषण 

मुगुका १ सय ८ जना बालबालिकामा कुपोषण 

Trulli
ADVERTISEMENT

मुगु- मुगुका १ सय ८ जना बालबालिकामा गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालू आर्थिक वर्षको ६ महिने तथ्यांकअनुसार गत साउनदेखि पुससम्म जन्मिएको ६ महिनामाथिका एवं ५ वर्षमुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको हो ।


जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण विज्ञ लोकबहादुर विकका अनुसार बालविवाह, परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्नु, पोषिलो खानेकुरा नहुनु र अशिक्षाका कारण यस्तो रोग देखापरेको हो । 


कुपोषण रोग न्यूनीकरण गर्न स्थानीय तहमा ठूलो बजेट भए पनि सही सदुपयोग नगर्दा सानै उमेरमा बालबालिका कुपोषित हुनु परेको छ । 


मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशतमा मध्यम खाले कुपोषण देखिएको छ । गत साउनदेखि पुससम्म सबैभन्दा बढी साउनमा ४६ जना र मंसिरमा १९ जना बालबालिकामा गम्भीर कुपोषण देखिएको हो ।

 

यीमध्ये ७३ जना बालबालिका उपचार गरी निको भएका र बाँकी ३५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

 

जिल्लाका ४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायानाथ रारा नगरपालिकाका र सोरु गाउँपालिकाका बस्ती स्तरका बालबालिकामा बढी कुपोषण देखा परेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका १ बालकमा मात्र कुपोषण देखिएको छ ।


गरिबी, पोषणयुक्त खानपिन नहुनु र सरसफाइ अभावमा दलित बालबालिकामा बढी कुपोषण देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीले बताए ।

 

स्थानीय उत्पादनभन्दा आयातीत खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिकामा कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको अनुभव छ । कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ । 


‘लामो समयसम्म घरमा बच्चा बिरामी भएको थियो । जिल्ला अस्पतालमा उपचार गराउन ल्याएर चेकजाँच गर्दा कुपोषण भएको डाक्टरले बताए । अस्पतालबाट पाइने पोषिलो पिठो र घरमा पोसिलो खानेकुरा खुवाउँदा केही सुधार आएको छ’, छायानाथ रारा नगरपालिका वडा नम्बर १० का मानबहादुर सार्कीले भने ।

 
सदरमुकामभन्दा सोरु, मुगमकामारोङ, खत्याड गाउँपालिकाका स्थानीय बालबालिकामा कुपोषण बढी देखिएको कार्यालयले बताएको छ ।