कास्की–पहिले–पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो चौतारी अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरी बसेर शीतल हावा लिँदै मायाप्रेमका कुरा गर्ने तथा बाघचाल खेल्ने थलोका रूपमा रहेका चौतारी पछिल्लो समय नासिँदै गएका हुन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचान हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।
पहिले अहिलेजस्तो यातायातका साधन नहुँदा भरियाबाटै सामान बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको मायाप्रेम दर्शाउने, पाका पुस्ता एकै ठाउँ जम्मा भएर दुःख–सुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी । चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्ति पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्दथे ।
आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्त्व छ । यसलाई मानिसले पुण्य कमाउने संरचनाका रूपमा लिने गरेको पाइन्छ । मानिसले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्नेजस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा लिने गर्दथे । ती चौतारीमा वरपीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचना मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।
नेपालमा पछिल्लो समय विकासका नाममा मोटर बाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्त्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटर बाटोको सुविधा र सवारीसाधनको प्रयोगसँगै चौतारीहरू बिर्सिंदै जान थालिएको छ । मान्छे हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्त्व पनि कम हुन थाल्यो । तर, चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन, पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले यसको महत्त्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताए ।
उनले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पीपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बाघचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता भएको जानकारी दिए ।गर्मीयाममा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’ को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेजस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ?
अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन् । गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।
चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार
गण्डकी प्रदेश सरकारले ऐनै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ । गण्डकी प्रदेशसभाले २७ माघ २०७५ मा स्वीकृत गरेको विधेयकले प्रदेश मातहतका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यका रूपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पुर्याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत छ ।
यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिन एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ । सो कोषमा सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वरपीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवाकुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने उल्लेख ऐनमै गरेको छ ।
यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ ।
स्थानीय तहको अभियान
म्याग्दीका स्थानीय तह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्त्वका चौतारीको संरक्षण, मर्मत र निर्माणमा जुटेका छन् । विकास र सुविधाको नाममा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि यहाँका केही स्थानीय तहले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वरपीपल र चौतारी–पोखरीको संरक्षण र मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियानै सञ्चालन गरिएको छ ।
६ वटा स्थानीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी ५ स्थानीय तहका १४ वटा वडामा वरपीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।
बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रूपमा समेत वरपीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।
बेनी नगरपालिका वडा नम्बर ६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वरपीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब ५ लाख रुपैयाँ बजेट खर्च गरेको वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाँै अगाडिका वरपीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए ।
ग्रामीण वस्तुको महत्त्व र यसको सुन्दरता कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयको चासो बढेको अध्यक्ष बानियाँको बुझाइ छ । उनका अनुसार १ सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वरपीपल संरक्षण तथा रोपणका लागि ३ लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि २ लाख रुपैयाँ बजेट खर्च गरिएको उनले जानकारी दिए ।
उक्त बजेटबाट थानकपोखरी, जरबुटामा वरपीपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । वरपीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ ।
स्थानीयको सहयोगमा वरपीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रूखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अक्सिजन अभाव र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ वरपीपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो ।
देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दु महासंघ बेनी नगरपालिका वडा नम्बर ५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले बताए । बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोटमा स्थानीय चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा वरपीपल रोपण र ८ वटा पोखरी निर्माण गरेका छन् । ‘मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ’, ५६ वर्षीय कार्कीले भने ।
पछिल्लो समय सार्वजनिक ठाउँमा वरपीपल रोप्ने र सडक छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । धार्मिक मान्यताअनुसार पनि चौतारी निर्माण गरेर वरपीपल, बेल, समी र तुलसी रोप्ने कार्य अत्यन्त फलदायी भएको मानिएको छ । चौतारी निर्माण गरेर वरपीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि छ ।
पछिल्ला २ वर्षयता म्याग्दीमा मन्दिर निर्माण र चौतारी पोखरी संरक्षण अभियानले तीव्रता पाएको स्थानीयको भनाइ छ । यस्ता कार्यले एकातिर धेरैलाई सुविधा पुग्ने र अर्कोतर्फ मानसिक सन्तुष्टि पनि मिल्ने भएकाले व्यक्तिगत वा सामूहिक रूपमा पनि पछिल्ला वर्षमा चौतारी पोखरी निर्माण गर्ने क्रम बढ्दै गएको हो । यसका साथै यस्ता कार्यले सामाजिक एकता र आपसी सम्बन्ध सुधारमा समेत सघाउ पु¥याउने स्थानीय पाका नागरिकको भनाइ छ ।