close

यस्तो पनि नगरपालिका !

Trulli
ADVERTISEMENT

कञ्चनपुर- वेदकोट नगरपालिका– १ रडाहाका ४५ वर्षीय वासुदेव पनेरुलाई स्थानीय तह पुनर्संरचनापछि गाउँमा बाटोघाटोसँगै अन्य विकास निर्माणले गति लिने आशा थियो । यो गाउँ अहिले पनि सडक सुविधा र सञ्चारको पहँचबाट टाढै छ । 

 

साविकका दैजी गाविसबाट वेदकोट नगरपालिकामा परिणत भए पनि विकास निर्माणमा खासै परिवर्तन हुन सकेको छैन । रडाहामा अहिले पनि यातायातका ठूला साधन चल्ने बाटा छैनन् । फोन गर्न नेटवर्कले साथ दिँदैन । खेतीपातीका लागि सिँचाइ सुविधा छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको बस्ती भएकाले वन्यजन्तुले खेतीपाती खाएर हैरान बनाउँछन् । 

 

गाविसबाट नगरपालिका भए पनि विकासका पूर्वाधार निर्माण हुने आशमा रहेका स्थानीय निराश छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि विकास निर्माणले गति लिन नसकेको उनीहरूको ठम्याइ छ ।
‘गाउँमा मोटरसाइकलबाहेक ठूला सवारी साधन चल्ने बाटा अझै बनेका छैनन्,’ पनेरुले भने, ‘हामीलाई त नगरपालिका भएपछि कर मात्रै बढ्यो । सेवा–सुविधा पुरानै ।’

 

नगरपालिका घोषणा भएपछि घर र जमिनको कर मात्रै बढेको पनेरु सुनाउँछन् । उनका अनुसार गाविस हुँदासम्म कच्ची घरको १० र पक्कीको २५ रुपैयाँ कर तिर्नुपथ्यो तर त्यो बढेर २ सय ५० रुपैयाँ पुगेको छ । उनले १५ कठ्ठा जमिनको ५७ रुपैयाँ तिर्थे तर अहिले २ सय नाघेको छ । 

 

पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट ५ किलोमिटर उत्तरपट्टिको यो बस्ती राधा नदीको कटानको पनि जोखिममा छ । बस्ती बसेदेखि नै यहाँ कटान सुरु भएको हो । तर, स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि यसको रोकथामका लागि कुनै पहल भएको छैन । स्थानीयले वडाध्यक्षदेखि नगरप्रमुखसँग पनि कटान नियन्त्रणको हारगुहार गरिरहेको जुगौं भयो । अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।

 

‘कर मात्रै बढेको छैन, जमिनको मूल्य पनि अकासिएको छ,’ वेदकोट नगरपालिका– १ हात्तीथलाका ३५ वर्षीय वीरभान विष्ट भन्छन्, ‘बिउबिजनदेखि मलखाद पाउन झनै समस्या छ ।’ उनका अनुसार हात्तीथलामा गाविस हुँदा प्रतिकट्टा जमिन ५/६ लाखमा किनबेच हुन्थ्यो । तर, अहिले १ कठ्ठाको १२/१५ लाख पुगेको छ । 

 

हात्तीथला पनि बाटोघाटो र सञ्चारको सुविधाबाट वञ्चित छ । बर्खाका बेला पैदल हिँड्न बाटोसमेत हिलाम्य भएर आउजाउ गर्नै गाह्रो हुन्छ । यहाँका अधिकांश घर खर र टायलका कच्ची छन् । स्थानीय स्तरमा रोजगारी नभएका कारण यहाँका अधिकांश वासिन्दा खेतीपातीमै निर्भर छन् । 

 

हात्तीथलामा गाविस हुँदा बनेको पैदल हिँड्ने बाटोको स्तरोन्नति अझै हुन सकेको छैन । स्थानीयले सामान ढुवानीका साधन लैजानु परे खाली खेत भएको समय कुर्नुपर्छ । एम्बुलेन्स पनि गाउँमा पुग्दैन । आधा बाटोसम्म बिरामी बोकेरै पुर्‍याउनुपर्छ । 

 

‘गाउँबाट नगर त भयो तर हाम्रा दुःख उस्तै छन्,’ विष्टको गुनासो छ, ‘विभिन्न सेवाका नाममा कर भने दोब्बर/तेब्बर बढेको छ । तर, अहिले पनि पञ्चायत कालदेखिकै बाटोमा हिँडिरहेका छौं ।’ सडक चौडा बनाएर ग्राभेल गरिदिन वडाध्यक्ष र नगरप्रमुखसँग पटक–पटक हारगुहार गरिएको उनी सुनाउँछन् । 
साविकको दैजी गाविसमै रहेको वेदकोट नगरपालिका–१ चम्फापुरमा पनि हात्तीथला र रडाहाका जस्तै समस्या छन् । यहाँ बाटोघाटोको सुविधा भए पनि अन्य सेवा छैन । यो गाउँ नदी कटानका कारण जोखिममा छ । पूर्वतिर राधा नदी र पश्चिममा पथरिया नदीको कटानले बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको स्थानीय गणेशराज जोशी बताउँछन् ।

 

साविकको दैजी र सुडा गाविसलाई गाभेर वेदकोट नगरपालिका बनाइएको हो । स्थानीय तहको निर्वाचनपछि साविकको दैजी गाविसको सिसैयामा नगरपालिकाको केन्द्र राखिएको छ । तर, यो नगरपालिकाका अधिकांश क्षेत्र सडकसमेतको आधारभूत सेवाबाट टाढा छन् । जिल्ला सदरमुकामसँगै जोडिएको नगर भए पनि यहाँका कतिपय गाउँ सञ्चार र यातायातबाट वञ्चित छन् । 

 

ग्रामीण भेगका बासिन्दा खेतीपातीमै निर्भर छन् भने पैसो कमाउन रोजगारीका लागि भारततिरै हानिने गरेका छन् । ‘गाउँ होस् वा नगर, जे भए पनि हामीले रोजगारी पाउने अवस्था छैन,’ वेदकोट नगरपालिका– ९ सुन्दरपुरका कलमसिंह डोबाल भन्छन्, ‘बर्षाैंदेखि सुकुम्बासीसरह बसेका छौं । स्थानीय तहको चुनावमा सबैले लालपुर्जा दिन्छौं भन्थे तर अहिले पनि त्यस्तै छ ।’ 

 

सुन्दरपुर साविकको सुडा गाविस वडा–५ मा पर्छ । यहाँ शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तारका क्रममा विस्थापित भएकालाई पुनर्वास गरिएको हो । तर, उनीहरूले अहिलेसम्म पनि जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । जमिन एउटाको नाममा र चलन भोग अर्कैले गरिरहेको छ । 

 

सुन्दरपुरमा पनि अधिकांश क्षेत्रमा सडक सुविधाको पहुँच छैन । ग्रामीण भेगमा हिलाम्य सडकका कारण हिँडडुल गर्नै समस्या छ । ‘गाविस वा नगरपालिका जे भए पनि हामीलाई कुनै सुबिस्ता छैन,’ डोबाल भन्छन्, ‘जस्तोसुकै व्यवस्था आए पनि हाम्रा दुःख हामीसँगै ।’ 

 

सुन्दरपुरका पुराना बासिन्दा डोबालको जमिन आरक्ष विस्थापितलाई यहाँ बसाइएपछि अर्कैको नाममा पर्‍यो । अन्यत्र कतै ठेगान नभएपछि उनी यहीँ बसे । अहिले उनको बसोबास यही भए पनि जमिन भने अर्कैको नाममा छ । ०५२ मा यहाँ आएका उनको जमिन ०५८ मा अर्कैका नाममा दर्ता भएको हो ।  

 

स्थानीय तहको निर्वाचनपछि विकास निर्माणले गति लिने र ग्रामीण भेगमै रोजगारी मिल्ने डोबालको पनि अपेक्षा थियो । तर, नेताहरू परिवारवादमा रमाएपछि उनको गाउँमै रोजगारी पाउने आशा बिलायो ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा हामीले फारम नै भर्न पाएनौं,’ डोबाल भन्छन्, ‘जहाँ पनि आफन्त र कार्यकर्ता नै भरिएका छन्, हामीले कसरी काम पाउनू ।’

 

पूर्वमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पश्चिममा भीमदत्त नगरपालिका, उत्तरमा चुरेको पहाड र दक्षिणमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वेदकोटको नगर क्षेत्र हो । उत्तरमा चुरेको फेद र दक्षिणमा निकुञ्ज किनारका बस्तीहरू विकास र आधारभूत आवश्यकताबाट टाढा छन् । यहाँ सडक, सञ्चार, विद्युत् र खानेपानी लगायतका अत्यावश्यक सेवा सुविधाहरू समेत पुगेका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि यी क्षेत्रमा उनीहरूको ध्यान पुग्नै सकेको छैन । 

 

गाविसबाट नरगपालिकामा स्तरोन्नति भएपछि विभिन्न नाममा कर संकलनमा भने निकै बढेको छ । ग्राभेल सडकसम्म नभएको क्षेत्रमा समेत घरजग्गा कर तीन/चार गुणा बढेको छ ।  

 

‘हामीले समयमा मलखाद र बिउ कहिल्यै पाउँदैनौं,’ डोबाल सुनाउँछन्, ‘रोजगारमूलक तालिममा पनि नेताका आफ्ना मान्छे मात्रै पर्छन् ।’