close

दाङमा फूल खेतीले धनी हुँदै किसान

दाङमा फूल खेतीले धनी हुँदै किसान

Trulli
ADVERTISEMENT

दाङ– यतिबेला दाङबासीका घरआँगनमा ढकमक्क फुलेका सयपत्री र मखमलीले तिहार आउँदै गरेको संकेत दिएको छ । रोल्पा सुन छहरी गाउँपालिका वडा नम्बर ७ का लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेका थिए । स्वदेश फर्किएपछि उनलाई केही नयाँ व्यवसाय गर्ने सोच पलायो र दाङ आएर व्यावसायिक फूल खेतीमा लागे ।  विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै श्रम खर्च गर्न सके यहीँ सुन फलाउन सक्ने अठोट बनाए । त्यही बेला उनको मनमा फूलखेती गर्ने अनौठो योजना बन्यो ।

 

सुरुमा उनलाई फूल खेती कस्तो होला भन्ने लागेको थियो तर बजार माग र अवस्था बुझेर काम सुरु गरेपछि सात वर्षअघि घोराहीमा ६ कठ्ठा जग्गा भाडामा लिएर परीक्षणका लागि १ कठ्ठाबाट फूल खेती सुरु गरेका रोकामगरको व्यवसाय फक्रिँदै गएको छ । 

 

सुरुआती चरणमा बजारमा फूल बिक्रीका लागि लैजाँदा फूल पनि बेच्छन् ? भन्ने मानिस अहिले ग्राहक बनेको उनको भनाइ छ । फूल टिप्नुहुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेती थालेका उनी अहिले सफल फूल व्यवसायी बनेका छन् ।  घोराही वडा नम्बर १४ झिंगौरामा रोकामगरले करिब १ बिघा क्षेत्रफलमा व्यावसायिक फूल खेती गर्दै आएका छन् ।


लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफूलाई मनमा निकै सन्तोष मिल्ने गरेको उनको भनाइ छ । 


पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै गरेका रोकामगरले भने, ‘सुरुसुरुमा फूल संस्कृतिको विकास गर्न चुनौती सामना गर्नुप¥यो, विस्तारै सबैले यसको महत्त्व बुझ्दै गएपछि अहिले राम्रो भएको छ । यसले पनि मलाई काम गर्नमा थप हौसला मिलेको छ ।’ 

 

उनले सुरुमा फूलको नर्सरी र मौसमी फूल खेती गर्दै आएका थिए । जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूल माग देखेपछि खेती थालेको उनले बताए । ‘मैले सुरु गर्ने बेला दाङमा व्यावसायिक फूल खेती कतै भएको थिएन । काठमाडौंतिर फूल खेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो होला भन्ने सोच बनाएँ’, रोकामगरले भने । 


लुम्बिनी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उनको भनाइ छ । जलजला पुष्प खेतीको नामबाट नर्सरी स्थापना गरेका रोकामगरले विभिन्न प्रजातिका फूल बिक्री गर्दै आएका छन् ।

 

दैनिकजसो फूल खरिद गर्न स्थानीय तथा जिल्ला बाहिरबाटसमेत ग्राहक आउने गरेको उनले बताए । १ लाखबाट सुरु गरेको फूलखेतीमा अहिले करिब ७ लाख रुपैयाँ लगानी रहेको उनले जानकारी दिए । 


सुरुमा स्थानीय जातको फूल रोपेर खेती थालेका रोकामगर अहिले विभिन्न जातका फूलखेती गरिरहेका छन् । उनको फूलबारीमा तिहारका लागि सयपत्री फूलिसकेका छन् । तिहारका लागि सयपत्री फूलका माला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा यो पटक करिब ७ हजार माला बिक्री गर्ने लक्ष्य लिएको उनको भनाइ छ । 

 

जिल्ला बाहिरबाट माग आए पनि स्थानीय बजारमा खपत भइरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको बताउँदै उनले फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको छ सुनाए । यसले आफू थप उत्साहित भएको रोकामगरको भनाइ छ ।

 

उनले फूलबारीमा सिजनअनुसार काम गर्ने मानिस थपेर राख्ने गरेपछि दैनिक दुई कामदारले रोजगारी दिएको बताए । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने चिस्यान केन्द्र नभएको उनको भनाइ छ । रोकामगरले भने, ‘‘यहाँ फूलका लागि चिस्यान केन्द्र छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ । फूलको स्टोर आवश्यक छ ।’ 

 

अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी सयपत्रीको फूलखेती गरिएको छ । घोराहीका अन्य स्थानमा पनि व्यावसायिक फूलखेती गरिएको छ ।तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगर वडा नम्बर ८ दोघरेमा पनि सयपत्री फूल खेती गरिएको छ । स्थानीय पाँच युवा मिलेर संयुक्त लगानीमा फूल खेती गरिएको हो । करिब ७ कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूल अहिले फुलेर ढकमक्क बनेको यसको खेती गर्दै आएका झग्गु भण्डारीले बताए । उनका अुनसार ५ युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा ३ महिना पहिले सयपत्री फूलखेती गरिएको छ । तिहारलाई लक्षित गरी फूल खेती गरेको उनले बताए । 

 

दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगंगा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनीले घोराही उपमहानगर वडा नम्बर १५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् । कपिलवस्तुमा ४ वर्षदेखि फूल खेती गरिरहेका पंगेनीले दाङमा १० कठ्ठा जमिन मासिक २ हजार रुपैयाँ भाडा दिने सर्तमा फूल खेती गरेका छन् । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले ५ लाख रुपैयाँ लगानी गरेर खेती सुरु गरेको उनको भनाइ छ । 

 

अहिले विभिन्न स्थानबाट फूलको माग आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उनले जानकारी दिए । करिब ५ हजार माला बिक्री गर्ने लक्ष्यका साथ फूल रोपिएकामा रामे्रासँग फुलेको पंगेनीको भनाइ छ । स्थानीय महिलालाई फूलका माला बुन्न उनले रोजगारीसमेत दिएका छन् । एउटा माला बुनेबापत ५ रुपैयाँ दिने गरेको उनले बताए । 

 

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनले भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने उनीहरूको भनाइ छ ।